बाढीपहिरोपछि मेलम्ची तथा हेलम्बु क्षेत्रमा पानीजन्य रोग नियन्त्रणका लागि स्वास्थ्य शिविर सञ्चालन

रिपोर्ट नेपाल | 2021 Jun 27 | 06:57 am 1369

सिन्धुपाल्चोक, असार १३ः मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढीपहिरोपछि पानीजन्य सङ्क्रामक रोग नियन्त्रणका लागि मेलम्ची नगरपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा काम सुरु गरेको छ । नगरपालिकाले छुट्टै हेल्थ डेस्क स्थापना गरी समिति बनाएर काम सुरु गरेको हो ।

बाढीपहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्चीमा पानीजन्य रोगको सङ्क्रमण देखिन सुरु गरेको छ । बाढीपहिरोबाट विस्थापित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले बाढीपहिरोपछि देखिनसक्ने रोग नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम भइरहेको बताए । उनले हेलम्बु तथा मेलम्चीमा विस्थापित भई बसेका स्थानीयवासीलाई चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।

चिकित्सकसहितको टोली
परिचालन : चापागाईं
पक्कै पनि बाढीपहिरोपछि पानी तथा सरसफाइबाट विभिन्न सरुवा रोगहरू सर्ने हुन्छन् । मेलम्ची र हेलम्बुमा पनि बाढीले ठूलो धनजनको क्षति गरेको छ । विस्थापितहरू बसेको ठाउँमा चिकित्सकसहितको छुट्टै टोली परिचालन गरिएको छ । आकस्मिक औषधिको व्यवस्था पनि गरिएको छ । खानेपानीमा सङ्क्रामक रोग निम्त्याउने भाइरसहरू छन् कि भनेर स्वास्थ्य कार्यालयको प्राविधिकसहितको टोलीले छ स्थानमा खानेपानीको नमुना सङ्कलन गरी परीक्षण गरेको थियो ।

रोग नियन्त्रणको प्रयास : घोरासैनी
मेलम्ची नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनीले विभिन्न सङ्घसंस्था, हरेक वडाका स्वास्थ्य इन्चार्ज, नर्स, पारामेडिक्स सम्मिलित समिति बनाएर बाढीपहिरोपछि देखिन सक्ने रोग नियन्त्रणमा लागिएको जानकारी दिए । उनले एक परिवारका पाँच जनालाई झाडापखालाको समस्या देखिए पनि हाल नियन्त्रणमा आइसकेको जानकारी दिए । दाताले दिएको खाद्यान्न म्याद नाघेको हुनाले पाँच जनालाई झाडापखालाको समस्या देखिएको उनको भनाइ छ ।

राहत व्यवस्था प्रभावकारी : मेयर डम्बरबहादुर अर्याल
केही दिन अघिसम्म विद्यालयमा छ सय जनालाई राखेका थियौँ । उनीहरूलाई खाना तथा बस्ने व्यवस्था मिलाइएको छ । अहिले पनि २५ परिवार विद्यालयमा बसोबास गरिरहेका छन् । छुुट्टै कोठा लिएर बस्नेलाई नगरपालिकाले भाँडाकुँडा किनेर दिएको छ । खाद्यान्नको व्यवस्था पनि गरेको छ । केही परिवार खाना विद्यालयमै खाएर बस्न अन्यत्र जाने गरेका छन् ।

धेरै घर बाढीले बगाएको हुँदा कोठामा बस्ने मानिस झनै प्रभावित छन् । धेरैजना मानिस एकै ठाउँ बस्दा स्वास्थ्य समस्या हुने भएकाले स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ । औषधि उपचारको व्यवस्था पनि गरेका छौँ ।

खोपमा प्राथमिकता :स्वास्थ्य प्रवक्ता पौडेल
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बाढीपहिरोबाट विस्थापित भएकालाई स्वास्थ्य मन्त्रालयले खोप लगाउने निर्णय गरिसकेको बताए । उनले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा बाढीपछि आउन सक्ने रोग नियन्त्रणको काम पनि भइरहेको जानकारी दिए ।

बाढी पहिरोपछि झाडापखाला, कमलपित्त, लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गु, मलेरिया फैलन सक्ने भएकाले सचेत हुनुपर्ने उनले बताए । यस्तै टाइफाइड, आउँ, हेपाटाइटिसलगायतका समस्या हुने भएकाले विस्थापितले यी रोग लाग्न नदिन खानेपानी र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.