बाढी-पहिरोले आज देशभर कुन-कुन राजमार्ग अवरुद्ध छन् ?

| 2018 Jul 12 | 08:24 am 4064

काठमाडौं, असार २८: रातभर परेको अविरल वर्षाका कारण देशभरका आएको बाढी, पहिरो तथा डुवानका कारण मुलुकभर विभिन्‍न ठाउँमा राजमार्ग अवरुद्ध भएका छन्। देशभरका कतिपय बस्तीहरु डुबानमा परेका छन्।

कुन-कुन राजमार्ग अवरुद्ध ?

पोखरा–बागलुङ सडकखण्ड

अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । गए राति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।

बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ । बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन । वर्षा शुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बागलुङ सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ । दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरनिको र बिपी राजमार्ग अवरुद्ध

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ। यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ। बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताए। मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण बिपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ । सडकका ठाउँ-ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा सडक अवरुद्ध रहेको उनले बताए ।

खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सीस्थित रोशी खोलाको बीचमा परेका स्थानीय बासिन्दा दुई जनाको उद्धारका लागि प्रहरीको टोली गएको छ ।

मदन भण्डारी राजमार्ग अवरुद्ध

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका-४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ ।

काठमाडौंबाट आएका हल्का सवारी सुमो, जीप, कार र मोटरसाइकल पहिरो नजीक अलपत्र अवस्थामा रोकिनुपर्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ। दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए।

पहिराले मध्यपहाडी राजमार्ग सिन्धुलीखण्ड अवरुद्ध

मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ। सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको छ ।

राजमार्गमा रहेका सवारी साधनलाई सुरक्षका साथ राख्दै माटो पन्छाउनका लागि प्रहरी टोली त्यसतर्फ गएको छ । वर्षात् रोकिएपछि सडकको माटो पन्छाइने उहाँको भनाइ छ । यसअघि गत जेठ २९ गते पनि मध्यपहाडी राजमार्ग सिन्धुलीखण्डअन्तर्गत सुनामबेसीमै माथिबाट माटाको लेदो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

राजमार्गभन्दा माथिबाट नयाँ ग्रामीण सडकको नयाँ मार्ग खनिएकाले माथिबाट खस्ने लेदो माटाका कारण राजमार्ग अवरुद्ध हुने गरेको प्रहरी उपरीक्षक यादवको भनाइ छ। गए रातिदेखि वर्षात् भए पनि जिल्लामा अन्य कुनै क्षतिको विवरण आएको छैन। सिन्धुलीका सम्भावित बाढी पहिराका उच्च जोखिम रहेका स्थानमा प्रहरीले सजगता अपनाउन आग्रह गरेको छ। जिल्लाका सबै प्रहरी एकाइलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि उनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.