बाजुरामा भाइरल ज्वरोका कारण एक महिलाको मृत्यु, दुई सय भन्दा बढी बिरामी

| 2020 Feb 05 | 04:29 pm 2051

बाजुरा, माघ २२: बाजुरामा भाइरल ज्वरोका कारण एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका १ जोरुकी ५५ वर्षीया मिमा कडारा रहेका छन्।

कडाराको मंगलबार साँझ मृत्यु भएको र उनको घरका अरू पाँचजना पनि बिरामी भएको साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले जानकारी दिए।

त्यस वडाका विभिन्न स्थानमा सिजनल फ्लू भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएको स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर शाहीले बताए।

सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक सातायता बिरामीको संख्यामा वृद्धि हुँदै गएको भन्दै स्वास्थ्यकर्मी विकले स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति नहुँदा समस्या हुन थालेको बताए।

स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर कैलाले स्टकमा रहेको औषधिसहित भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिएका छन्।

स्वास्थ्यकर्मीले भाइलर ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन र स्वास्थ्यमा हेरचाह तथा चिसो तातोमा ख्याल गर्न सुझाव दिएका छन्। उक्त ठाउँमा मंगलबार प्राविधिक सहितको टोली पुगेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.