बाघको छालासहित चार जना पक्राउ

| 2022 Aug 05 | 12:56 pm 2057

कैलाली, साउन २०ः कैलालीकाे अत्तरीयाबाट चितुवाको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ का समिर ओली, कैलालीको चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, सोही ठाउँका धिरेन्द्र रावत र बैतडीको डिलासैनी गाउँपालिका–२ का राजेन्द्रसिँह भण्डारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु गोदावरी नगरपालिका–२ तेघरी नजिकबाट राति सवा १२ बजेतिर पक्राउ परेका हुन्। उनीहरुको साथबाट चितुवाको टाउकोदेखी पुच्छरसम्मको छाला र २ केजी हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेद जोशीले जानकारी दिए।

उनका अनुसार चितुवाको छाला ओसारपसार भैरहेको सूचनाका आधारमा आरईटी र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। उनीहरु सबैजना सु.प.प्र. ०४–००१ च ०००६ नम्बरको बोलेरो जिपमा सवार थिए। डोटीको बुडरबाट अत्तरीयातर्फ आइरहेको जिप रोक्न खोज्दा तत्काल नरोकेकोले शंका लागी चेकजाँच गर्ने क्रममा चितुवाको छाला र हड्डी बरामद भएको डिएसपी जोशीले बताए।

पक्राउ परेका ओली जिपका चालक हुन्। उनीहरु सबैलाई घटनाका बारेमा सोधपुछ भैरहेको बताइएको छ। उनीहरुले कैलालीको फल्टुडेमा चितुवाको छाला र हड्डीसहित पक्राउ परेका रावतद्वय चढेको बताएका छन्। डिएसपी जोशीले पक्राउ परेका सबैलाई जिल्ला वन कार्यालय कैलालीको जिम्मा लगाउने पहल भैरहेको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.