बाघको आक्रमणबाट ओखलढुंगामा एक घाइते

रिपोर्ट नेपाल | 2019 Aug 08 | 09:50 am 1985

ओखलढुंगा, साउन २३   बाघको आक्रमणबाट ओखलढुंगामा एक जना घाइते भएका छन् । घाइते हुनेमा चम्पादेवी गाउँपालिका– २ का हीराबहादुर श्रेष्ठ रहेका छन् ।

बुधबार बिहान गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठमाथि बाघले आक्रमण गरेको २ नम्बर वडाका वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिए ।

बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठकाे सिन्धुलीस्थित खुर्कोटमा उपचार भइरहेको छ । बाघको आक्रमणबाट उनकाे अनुहार र शरीरका अन्य भागमा चोट लागेका छन् ।

बाघले आक्रमण गरेपछि हारगुहार माग्दा श्रेष्ठलाई छाडेर बाघ भागेको स्थानीयले बताए ।

केही दिनदेखि नै चम्पादेवी गाउँपालिका –२ मा बाघले आतंक मच्चाइरहेको थियाे । स्थानीय मसलीमाया मगरका ९ वटा खसी र झलक मगरका पाँच वटा बाख्रा मारेका थिए ।

त्यस्तै गाउँमा अन्य सात जनाका घर गोठमा पसेर २१ वटा बाख्रा मारेको स्थानीय बासीले जानकारी दिए । बाघको बिगबिगी बढेपछि स्थानीय त्रासित बनेका छन् । उनीहरूले बाघ नियन्त्रण गर्न पनि सम्बन्धीत निकायसँग माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.