बागलुङ, साउन २: जिल्लाको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा खसेको पहिरोले एक दर्जनभन्दा बढी घर पुरेको छ। मंगलबार बजारको माथिल्लो भागबाट खसेको पहिरोले पुरिएर दुर्इ पक्की घरमा क्षति पुग्नुका साथै दर्जन बढी छाप्रा पुरेको छ।
बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगामाटोले पुरिएको छ। यस्तै पहिरोले मध्यपहाडी लोकमार्गको केही खण्ड पनि पुरेपछि बुधबार रात्री सेवा र बिहीबार बिहान छुट्ने सवारी अलपत्र परेको प्रहरीले बताएको छ।
‘राति १० बजेपछि झनै ठूलो पानी परेकोले कोही पनि सुत्नै सकेनन्’ स्थानीयले भने, ‘मानवीय क्षति नभएपनि धेरै मानिसको बास गुमेको छ।’ पहिरो खस्न थालेपछि धेरैले भागेर ज्यान बचाएको ईलाका प्रहरी कार्यालयका निरिक्षक ओमप्रकाश यादवले बताए।
प्रहरी र स्थानीयले रातिदेखि नै उद्दारको काम थालेका थिए। ‘पहरी खस्नासाथ डोजर लिएर उद्दारमा खटियौं, घरभित्रका सबैलाई जवरजस्ती सुरक्षित स्थानमा पठायौं,’ यादवले भने, ‘समयमा उद्दार नगरेको भए मानवीय क्षति हुन्थ्यो।’ प्रहरीका अनुसार ११ घरमा पूर्ण क्षति, १२ घरमा आंशिक क्षति पुगेको हो। त्यस्तै २ वटा ग्रील उद्योग, १ फर्निचर र १ कुटानी पिसानी मिल पुरिएको छ।