बाख्राको मासु खाँदा १५ जना बिरामी

रिपोर्ट नेपाल | 2019 May 05 | 12:53 pm 1670

डोटी, वैशाख २२: जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडामा बाख्राको मासु खाँदा गाउँका १५ जना बिरामी परेका छन् । गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी बिरामी परेका हुन्।

बिरामी भएकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि लगिएको छ भने बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताए।

इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार बाख्राको मासु खाएर गम्भीर बिरामी परेकाहरुमा आर्दश गाउँपालिका–१ भेलगडाकी नौ वर्षीया सरस्वती खड्का, २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का, तीन वर्षीया उर्मिला खड्का रहेका छन्।

त्यसैगरी आर्दश गाउँपालिका–१ भेलगडाकी २ वर्षीया एलिसा खड्का, २ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्का, ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्का रहेका छन्। स्थानीयवासीका अनुसार बिरामी परेकाले शनिबार गाउँमा बाख्रा काटी काँचो मासु खाएका कारण बिरामी परेका बताए।

शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले मासु खाएर बिरामी परेकामध्ये केहीको अवस्था गम्भीर रहेको र केहीलाई क्रमिक रुपमा सुधार भइरहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.