बाख्रा पालनबाट मनग्य आम्दानी गर्दै भरत

| 2023 Jan 09 | 07:52 am 1533

बझाङ, पुस २५ः जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले  बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहेका छन् ।

पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टा मात्रै टाढा रहेको पुँगरमा उनले हरेक महिना चार÷पाँच खसी बिक्री गर्दै आएका छन् ।

उनले भने ,“बाख्रा सुरू गरेको समयमा एउटै बाख्रो र पाठी मात्रै थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।” उनका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ५५ बाख्राभन्दा तल भने कहिल्यै कम भएका छैनन् ।

“मैले जिन्दगीमा धेरै व्यवसायमा हात हाले, तर सफलता भने कतैबाट हात लागेन, उनले भने, “बाख्रा व्यवसायपछि भने कहिल्यै पछाडि फर्कनुपरेन । अहिले पनि महिनामै चार÷पाँच  बाख्रा बेचिन्छ । त्योअनुसारको उत्पादन पनि भइरहन्छ ।” निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनले बताए ।

उनी बाख्रालाई बाघ, स्यालबाट भने जोगाउन हम्मेहम्मे पर्ने गरेको बताउछन् । “बाख्रापालनबाट केही घाटा छैन”, उनले भने, “दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ तर, ग्वालो बलियो छैन भने एकैपटक धेरै नोक्सान हुन्छ ।”

उनीसँग बाख्रा मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । “भैँसी, गाई, गोरु पनि पाल्दै आएका छौँ”, उनले भने, “मेरा सम्पत्ति भनेकै यी चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन । रेडियो सुन्नेबाहेक बाहिरी संसार पनि केही थाहा हुँदैन ।”

अहिले विष्ट परिवारलाई खसीबोका तथा बाख्रा विक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर पुँगरमै पुग्ने गरेको उनी बताउछन् । पुँगर लेक एउटा ‘पिकनिक जोन’ पनि हो । वनभोज खान यहाँ सयौँको सङ्ख्यामा मान्छे आउँछन् । “मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई विक्री गरेँ”, उनले भने, “बाख्रा व्यवसायको फाइदा पनि यही हो । बेच्ने पनि गाउँमा यसरी नै हो ।” खसी बोका बिक्रीका लागि अहिलेसम्म दौडधुप गर्नु नपरेको उनले बताए ।

परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने विष्ट राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्नुहुन्छ । “राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो”, उनी भन्छन्, “कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ तर, हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन ।” राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी । “म यहाँ बसेको तीन दशक नाघिसक्यो”, उनले भने, “म मात्रै होइन, बुबा, बाजेले पनि यसै ठाउँमा जीवन बिताउनुभएको थियो । पुस्तौँदेखि वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग मिलेको छैन ।”

उनका अनुसार काम गर्ने इच्छाशक्ति भएका कृषकलाई राज्यले लगानी गर्नुपर्छ । “म त आफैँ पनि गर्न सक्छु, व्यवसायमा मलाई सरकारको कुनै सहयोग नभए पनि केही छैन तर, काम गर्ने इच्छाशक्ति भएका गरिब परिवारलाई राज्यले लगानी गर्ने हो भने त्यसको नतिजा पनि राम्रो आउँथ्यो होला ।” उनी भन्छन् ।

अहिले विष्टले बाख्राबाटै वार्षिक रु सात लाखभन्दा बढी कमाउँदै आउनुभएको छ । “मैले बाख्रा पालेको लामो समय भइसक्यो”, उनले भने, “पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई÷चार वर्षयता भने बचत पनि भइरहेको छ ।” त्यसै आम्दानीबाट तीन जना छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए ।

भरत मात्रै छैनन्, उनका दर्जनभन्दा बढी छिमेकी नै पडेसभन्दा बढी पुँगरमै बस्नुहन्छ । भरतका छिमेकी बलराम विष्ट भन्छन्, “घर (पडेस) भन्दा लेक पुँगर नै सजिलो हुन्छ । यता खुला ठाउँ पनि छ । वस्तुभाउ पालनदेखि फलफूल तरकारी सबै यतै राम्रो उत्पादन हुन्छ । घरमा खेती लगाउने समयबाहेक बाँकी समय पुँगरमै बस्छौँ ।”

बलरामले पनि पुँगरमा फलफूल, तरकारी, बाख्रा, भैँसी पाल्दै आएका छन् । व्यावसायिकरूपमा नलागे पनि आफ्नो गुजाराका लागि पुँगर सजिलो भएको उनले बताए । उनले भने,“उत्पादन भएको केही बिक्री गर्नुपरेमा चैनपुर जान्छौँ । नत्र हाम्रो सानोतिनो उत्पादन फलफूल, तरकारी आफैँलाई ठीक हुन्छ ।” उनका अनुसार पुँगर लेकमा सडक पुगेपछि नियमितरूपमा गाडी सञ्चालन भइरहेका छन् । “कहिलेकाहीँ ओखर, कागती त घरबाटै बेचिन्छ ।” उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.