बाकसमा आए २४ नेपाली

| 2021 Aug 22 | 07:30 am 1913

काठमाडौँ, भदौ ६ः स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपुर्याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ ।

बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।

विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पुर्याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन ? रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन् ।

पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एक हजार २४२ जनाले ज्यान गुमाएका छन् । यस हिसाबले दैनिक मृत्यु हुनेको सङ्ख्या औसत तीन जना हुन आउँछ । जब कि अघिल्लो आर्थिक वर्षमा ६७४ जनाले ज्यान गुमाएको बोर्डको तथ्याङ्क छ ।

बोर्डका अनुसार पछिल्लो एक दशकमा १० हजार लगभगले विदेशमा ज्यान गुमाएका छन् । आव २०७७/०७८ सम्म नौ हजार ४२४ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.