बाँकेमा विद्युतीय माइक्रोबस

रिपोर्ट नेपाल | 2022 Sep 01 | 08:27 am 2045

बाँके, भदाै १६: रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय माइक्रोबस सञ्चालन गरिएका छन्। बागेश्वरी यातायात कोहलपुरले ११ सिटे क्षमताका ४ वटा माइक्रोबस सुर्खेतको वीरेन्द्रनगरसम्म तथा एक–एक वटा गाडी बर्दियाको ठाकुरद्वारा र धनगढीसम्म सञ्चालन गरेको हो।

कोहलपुरका विष्णु खनाल, विकास बुढाथोकी, पदम भट्टराई र रविप्रसाद कर्माचार्यले बीबी इन्टरप्राइजेज खोलेर बाँकेमा विद्युतीय माइक्रोबस भिœयाएका हुन्। १२ वटा विद्युतीय माइक्रोबस बिक्री भएको सञ्चालक कर्माचार्यले बताए। उनले भने, ‘नेपालगन्ज, सुर्खेत, ठाकुरद्वारा र धनगढीमा गरी ६ वटा यात्रुवाहक गाडीका रूपमा सेवा दिएका छन्।

नेपालगन्जका होटल र स्कुलमा गरी अरू ६ वटा गाडी चलिरहेका छन्।’ ४४ लाख ९५ हजार रुपैयाँ पर्ने विद्युतीय माइक्रोबसमा बैंकले लगानी नगर्दा बुकिङअनुसार गाडी खरिद बिक्रीमा समस्या भएको कम्पनीले जनाएको छ। कम्पनीले बुकिङ भएका १५ वटा गाडी पनि बिक्री गर्न सकेको छैन।

विद्युतीय माइक्रोबसलाई एक पटक चार्ज गर्दा २५० किलोमिटरसम्म गुड्ने क्षमता राख्छ। यति गुड्दा ६ सय रुपैयाँबराबरको विद्युत् महसुल (चार्जिङ शुल्क) तिर्नुपर्छ। इन्जिन नभएकाले गाडीमा मोबिल फेर्ने र सर्भिसिङ्ग गर्नु पर्दैन। मोटर र ब्याट्रीबाट चल्छ। टायर र ब्रेक लेदर मात्र फेर्दा पुग्छ। गाडी १६० को स्पिडमा गुड्छ तर जति गुडायो त्यत्ति चार्ज सकिने भएकाले चार्ज हेरेर चालकले ४०–६० को स्पिडमा मात्र गुडाउँछन्।

यात्रा आरामदायी लाग्छ। यी गाडीको मुख्य समस्या भनेकै अहिले चार्जिङ सेन्टरको अभाव हो। कोहलपुरमा मात्र चर्जिङ सेन्टर छ। बीबी इन्टरप्राइजेजले कोहलपुर बसपार्क नजिकै विद्युतीय चार्जिङ पोइन्ट एन्ड रिफ्रेस सेन्टर खोलेको छ। कोहलपुर नगर विकास समितिको जग्गा १० वर्षका लागि लिजमा लिएर सेन्टर बनाइएको छ। जहाँ अहिले गाडी चार्ज मात्र हुन्छ। यात्रीलाई चिया, खाजा र खाना खुवाउन रेन्टुरेन्ट, शैलुनलगायतको सुविधा दिने तयारी भइरहेको छ।

‘डिजेल, पेट्रोल केही पनि नलाग्ने भएकाले रिजर्भमा जाँदा पनि हाम्रो गाडी सस्तो पर्छ। चार्जिङ सेन्टरको अभावमा यी गाडी धेरै लामो दूरीमा जाँदैनन्’, माइक्रोबसका सञ्चालक प्रेम दर्लामी सुझाव दिन्छन्, ‘तत्काल नेपालगन्ज र सुर्खेतमा मात्र चार्जिङ सेन्टर खुलेको भए हामीलाई निकै राहत हुन्थ्यो। चार्जिङ सेन्टर जति धेरै ठाउँमा खुल्छ। त्यत्ति धेरै ठाउँमा सुविधा दिन सकिन्छ।’ विद्युतीय गाडी आयात गर्ने कम्पनीले भने बैंकले लगानी नगरेकै कारण धेरै वटा चार्जिङ सेन्टर खोल्न नसकेको जिकिर गरेको छ।  अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.