बसमा करेन्ट लाग्नुमा हाम्रो लापर्वाही छैन : प्राधिकरण

रिपोर्ट नेपाल | 2019 Jan 26 | 03:55 pm 2226

काठमाडौं, माघ १२ : नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनै पनि लापर्बाही नरहेको र नगरेको प्रष्ट पारेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले कुरा गर्दै बसको छतमा राखिएको टिनको ट्याङ्का ११ केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भएको बताए ।

‘प्रशारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ’, उनले भने, ‘करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजको जन्ती बस त्यहाँबाट पार गरेको थियो त्यसमा केही भएन, तर करेन्ट लागेको गाडीको छतमा ट्याङ्का राखिएको र त्यसले नाङ्गो तारमा छुँदा दुर्घटना भएको हो, यसमा चालकले ध्यान नदिएको देखिन्छ ।’

त्यस स्थानमा प्रशारणको तार लत्रिएको गुनासो यसअघि कहींबाट नआएको उनले बताएका छन् । सबैला नगरपालिकाले भने प्राधिकरणको लापर्बाहीले घटना भएको आरोप लगाएको छ । कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कदै गरको बसमा शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको थियो । घाइते छ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.