बस र अटो ठोक्किँदा एकको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2020 Mar 14 | 01:58 pm 2513

कैलाली, चैत १: बस र अटो एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ का ५३ वर्षीय तुले कोली रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्‍तर्गत गोदावरी नगरपालिका–३ चौकीडाँडामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ४५२८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको से१ह २११४ नम्बरको अटो एकआपसमा ठोक्किँदा अटोमा सवार कोलीको मृत्यु भएको हो।

दुर्घटनामा अन्य चारजना घाइते भएका जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

घाइते हुनेमा अटो चालक गोदावरी नगरपालिका–१ विजयनगरका २६ वर्षीय मानबहादुर विक, गोदावरी नगरपालिका–६ कोली कटानका ५० वर्षीय नखरी कोली, २५ वर्षीय अर्जुन कोली, २५ वर्षीय दुर्गा कोली रहेका छन्।

घाइतेहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। बस चालक डडेल्धुराको परशुराम नगरपालिका–५ का २४ वर्षीय दीपकराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.