बल्कोट र आसपास

रिपोर्ट नेपाल | 2019 Nov 09 | 09:09 pm 2442

  • नारायण भट्टराई

त्रेतायुगमा अयोध्याका राजा दशरथको राजकीय पुत्रेष्ठीयज्ञ सम्पन्न गराउनु भएका रिश्यश्रिंगको तपोभूमि रेसुंगा र महाभारतयुद्धका एकमात्र तटस्थ द्रष्टा बारबरिकको सचेतशीर समाधिस्थल उलुकको काखमा अवस्थित बल्कोट सचेतना र सभ्यताको उर्बरभूमि मानिन्छ | महा युद्धको विभीषिकाबाट क्षत-विक्षत संस्कृति सभ्यताको उत्थानउलुकबाट प्रारम्भ भएको पौराणिक मान्यताको आधारमा बल्कोट र आसपासको क्षत्रलाई उत्थान विन्दु मान्न सकिन्छ |

यसको पहिचान भनेकै गरिखाने संस्कृति , भाइचारा र स्वावलम्वन हो | बल्कोट र आस्पासले यो गौरवशाली परम्परालाई निरन्तरता दिदै आएको पनि छ | यहाका बासिन्दाले प्रतिकूलता र त्रासदीपूर्ण विपत्तिका बाबजूद यो मौलिकतालाई ओझेल पर्न दिएका छैनन | राजनीतिक सचेतना र सामाजिक रुपान्तरणको दिशामा बल्कोटले गर्दै आएको अगुवाई यसैको परिचायक हो भन्न हिच्किचाउनु पर्दैन | मुलुकले व्यहोरेको पछिल्लो त्रासदीपूर्णकालमा आफ्नो अजेय चिन्तन र दृढताले बल्कोटका सपुत राममणि ज्ञवालीले आतंकवादी कुकृत्यका सामु नझुकेर आफुलाई उत्सर्ग गर्नु भएको बीरतापूर्ण गाथाले बल्कोट र आसपास अभिसिन्चित छ | मानिसले मानिसको संमान गर्ने स्वतन्त्र र स्वाभिमान संस्कृतिको विकासमा यो क्षत्रले गरेको कुर्वानीको गाथा लामो छ | पृथक प्रसंगमा यसबारे चर्चा गरौंला |

बलिहांग राज्य माथि आधिपत्य जमाए पछि मणि मुकुन्द सेन द्वितीयले खांची र अर्घा राज्य सित राम्रो सम्बन्ध कायम गरेका थिए | त्यसबाट अतालिएका पर्वतका राजा कीर्तिबम मल्लले पाल्पाली सेन राजा सित जुध्ने मनसायले केरुंगामा सेना तैनाथ गराएका थिए | आफ्नो समयको काविल राज्य पाल्पाले पनि बल्कोटमा सेना तैनाथ गराएको थियो | यी दुवै सेना बल्कोटमा जुधे , घमासान युद्ध भयो – पाल्पाली सेन राजाका सैनिक विजयी भए | बल्कोटबासीले सेनराजालाई सघाएका थिए | स्थानीय जनताको सहयोग प्रति आभार व्यक्त गर्दै मणिमुकुन्द सेन द्वितीयले बल्कोटलाइ अजेय भनेका छन् | त्यति बेला देखि यो ठाउलाई शक्ति-सामर्थ्य र कौशल केन्द्रको प्रतीकात्मक बल्कोट भन्न थालिएको किम्बदन्ती पनि छ |

पाल्पाली सेनाले बल्कोटबासीको संमान्मा बल्कोटको पाटीमा ”पाटी र पल्पाथुम्को ढुंगे चौतारी” बनाइ दिएका थिए |प्रकृति र परिस्थितिले सिंगारेको बल्कोट पूर्व-पश्चिम मूलबाटोको महत्वपूर्ण केन्द्र रह्यो | यसै क्रममा जुम्लाबाट काठमाडौँ जाने क्रममा बालनरसिंह कुंवरजीका कान्छी पत्नी गणेश कुमारीले जंगबहादुर कुंवरजीराणालाई मथुरामा जन्माइन | स्मरणीयछ – राजा सुदधोधनकी रानी मायादेवी माइती,रामग्राम जाने क्रममा बीचबाटैमा सिद्धार्थगौतमलाई लुम्बिनीमा जन्माएकी थिइन | कालक्रमले जंगबहादुर कुंवरजी राणा प्रधानमन्त्री बने | उनकै निर्देशनमा विश्वासपात्र कमाण्डर इन चीफ सनक सिंह टन्डन लाहुरेक्षत्री मार्फतबल्कोटमा श्रीपरशुरमेश्वर पौवा र वाणलिंगेश्वर मन्दिर तथा मथुराधाममा लामपाटी निर्माण गर्न लगाएका थिए | त्यतिबेला बनेका संरचनाहरु यस क्षत्रका गहना मात्र होइन मुलुककै ऐतिहासिक धरोहरको रुपमा रहेकाछन् |

आधुनिकयुगमा नेपाली कांग्रेसको अगुवाइमा लम्जुंगबाट प्रारम्भ भएको “कृषिव्यवसायमा हलोक्रान्ति”लाई बल्कोटले शिखरमा पु-याएको थियो | सातसालको जनक्रान्तिमा बल्कोटेहरुले दीलखोलेर सघाएको सजीव इतिहास छ | क्रान्तिनायक काशीनाथ गौतमले बल्कोटलाई आफ्नो राजनीतिकघर भन्ने गर्नु हुन्थ्यो | देशदर्शनको क्रममा राजा र प्रथम जननिर्वाचित प्रधानमन्त्रीले बल्कोटको मथुरामा बास बस्नु भएको प्रसंग उत्तिकै रोचक छ |

२०१६ मङ्सिर २६ गते मथुरामा आयोजित विशाल जनसागरलाई सम्बोधन गर्दा प्रधानमन्त्री श्रीविश्वेश्वरप्रसाद कोइरालाले ग्रामीण विकासका आधारभूत क्षत्र पहिचान गरि बाटो-घाटो,पधेरा,स्कूल,उन्नत खेतिको लागि सिंचाई सुविधा विस्तार जस्ता क्षत्रमा यहाका जनताले अनुकरणीय भूमिका निर्वाह गरेको पाउदा आफु ज्यादै उत्साहित बनेको विचार व्यक्त गर्नु भएको थियो | स्वत:फूर्त ग्रामीण सहकार्य,भाइचारा,स्वावलम्वनका दिशामा बल्कोट र आस्पासले गरेको पहलको उहाले उच्चप्रशंसा गर्नु भएको थियो | बल्कोट त्यस्तो ठाउ हो जहाका जनताले आफै मोटरबाटो खनेर स्वावलम्बनको पहिचान दिएका थिए | अहिले पनि बल्कोटका बासिन्दाले मुलुकको प्रशासनिक,कुटनीतिक ,प्राविधिक शीप र दक्षताका साथै उद्यमशील व्यबस्थापकीय क्षत्रमा समित महनीय योगदान पुराएको जगजाहेरै छ |

बल्कोट र वांगलाको संगम,मथुराधाम, धार्मिक दृष्टिले पवित्र मानिन्छ | योगी नरहरिनाथको अगुवाइमा २०४३ सालमा सम्पन्न महायज्ञ र बृहत विद्वतसभाले मथुराधाम बारे महत्वपूर्ण घोषणा गरेको थियो | विद्वत्सभाका प्रवक्ता पण्डित अनिरुद्ध खनालका अनुसार “कृष्णस्य हृदये शिवम् ,शिवश्य हृदये कृष्णम्” | गोपेश्वरपीठले यहि भाव र मर्मलाई सम्बोधन गरेको छ |

त्यसैले यसलाई “पंचकोशीकोकेन्द्र“ मानिएको पनि छ | यहा गोपेश्वर महादेव,गणेश,हनुमान,राधाकृष्ण मन्दिर उल्लेख्य छन् | यसका साथै अखण्ड अग्निकुण्ड ,ज्ञान्मंच ,वृद्धाश्रम,अस्पताल र विद्यालय पनि यहि गोपेश्वरपीठ भित्रै अवस्थित छन् | स्कंधपुराण उपपुराण र आख्यानहरु माथिको चर्चा-परिचर्चा र अन्वेषण-अनुसन्धानबाट सोमेश्वर महादेवको गुफा, महर्षि पाणीनी र पतंजलीतपोथल अर्घाखाँचीमा नै रहेको पुष्टि भएको छ | यसैको सेरो-फेरोमा रहेर अहिले बल्कोट र आसपासको ऐतिहासिक-सामाजिक,सांस्कृतिक पक्ष र जनश्रुतिहरु समेतको सक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ |

नलेखिएको,जनश्रुतिका माध्यमबाट चर्चामा आएका ऐतिहासिक पृष्ठभूमिबारे लेख्दा त्यस विषयमा दखल राख्ने व्यक्तित्व,विज्ञ वा इतिहासकारहरुको मद्दत खोज्नु स्वाभाविक हुन्छ | बेलाबखतमा व्यक्तिगत तथा सामुहिकरुपमा मठमन्दिरमा आयोजना हुने यज्ञ–यज्ञादी ,सत्संग , महापुराण,उपपुराणआदि उपर हुने प्रवचनमालाका पौराणिक आख्यान र महत्व बारे गहन चासो राखेर शोध-खोज गर्ने प्रयत्न भए पनि प्रामाणिक अभिलेखको अभावमा जनश्रुतिलाई मूलश्रोत मान्नु पर्ने वाध्यात्मक परिस्थितिमा ऐतिहासिक पृष्ठभूमि कोट्याउन खोज्नु स्वयममा चुनौतिपूर्ण हुन सक्छ | यस्तो अवस्थामा समाजसेवी,आध्यात्मिक चिन्तक तथा साधक र मठ-मन्दिरहरुको आज्ञा-पूजा र सांस्कारिक चलन-चल्तिहरुको पनि सूक्ष्म अध्ययन आवश्यक हुदोरहेछ |

यसै परिप्रेक्षमा मथुराधामको उत्थान र विकासकार्यमा भए-गरेका छलफल,विचार-विवेचना,विद्वानहरुको अभिमत,ड़ा.टीकाराम पन्थीज्यूद्वारा लिखित तथा किरण पुस्कालय तम्घासद्वारा प्रकाशित अनुसन्धानमूलक कीर्ति “केहि जनश्रुतिहरु”को पृष्ठभूमिलाइ मौलिक औ प्रमुख आधारमानी बल्कोट र आसपास बारे लेखिएकोछ | यसका अतिरिक्त गोपेश्वरपीठको पौराणिक मान्यता-मूल्यको मर्मबोध गराई त्यसको पहिचान गराउन शैक्षिकविकास,समाजसेवा तथा जागरण अभियानमा दशकौं देखि निमग्न रहदै आउनु भएका व्यक्तित्वहरुसंग गरिएको साक्षात्कारबाट प्राप्त जानकारी र स्थानीय जनता द्वारा एकादशी,औसी-पूर्णिमा,बैशाख सक्रान्ति आदि पावन दिनहरुमा मथुराधाम घाटमा स्नान गर्ने गरेको परम्पराका साथै मृतकहरुको अन्तिम संस्कार गर्दा गोकुलधाम प्राप्त हुने जनविश्वास समेतको सांगोपांगो अध्ययन-अनुसन्धानलाई आधार मानिएको छ |

इतिहासमा नलेखिएको तर जनजिभ्रोमा अविरल बहि रहनेभावलाई सुनिरहदा यहाको रैथानेको नाताले पनि अछुत रहन नमिल्ने महसुस गरि बल्कोट र आसपासको गाथा लिपिबद्ध गर्न  खोजिएको छ | यसै परिप्रेक्ष्यमा २०४३ सालमा पूर्वीय दर्शनका ज्ञाता धार्मिक-सांस्कृतिक-ऐतिहासिक अन्वेषक योगी नरहरिनाथको अगुवाई र यसभेकका मान्यजन-पण्डित-समाजसेवी-राजनीतिककर्मी तथा आमजनताको ऐतिहासिक सहभागिता रहेको महायज्ञमा स्कन्ध पुराणको नेपालमहात्म्य ( हिम्बत खण्ड ) माथि केन्द्रित छलफलबाट निकालिएको निचोडलाइ आधुनिक मथुराको महत्वपूर्ण दस्तावेज मान्नु पर्ने हुन्छ | त्यति बेलै मथुराघाटलाई त्रिवेणी (उल्बेसी-मसाने-कोर्घाकोसंगम) र पंचकोशीको केन्द्रविन्दु घोषित गरिएको स्मरणीय छ | परापूर्वकाल देखि चल्दै आएको मथुराघाटको अन्तिमसंस्कारको पछिल्लो सन्दर्भ जोड्दा मु.पोमनारायणआचार्य,राजनीतिज्ञ शोभाकरभुसाल,पण्डितजनार्दनआचार्य,डा.विष्णुआचार्य लगायतयसक्षत्रका लव्धप्रतिष्ठित व्यक्तित्वहरुको गोपेश्वरपीठ मथुराधामघाटमा अन्तिम संस्कार गरिएको प्रसंगले परम्परागतरूपमा गर्दै आएको सांस्कारिक प्रचलन पवित्रताको आधारमा हुने गरेको पुष्टि हुन्छ |

कसरि पञ्चकोशी ? साक्षात विष्णुस्वरूप शालिग्राम क्षत्रको पार्श्वबर्ती मथुराधाम गुल्मीको खर्जेंग देखि पश्चिम, प्युठानको असुरकोट बुधुममाराको ठाटी देखि पूर्वोत्तर रिश्यश्रिंग शृंखला देखि दक्षीण र महाभारत शृंखला देखि उत्तरको भूभागलाइ पंचकोशी भनिएको छ | भगवान श्रीकृष्णको विश्राम स्थलका साथै महाभारत युद्धका एकमात्र तटस्थ द्रष्टा बर्बरीकको (छत्रमहाराज) समाधीस्थल उलुक ,पाणिनी तपोभूमि,दूर्वाषाऋषिको तपोस्थल र नर्तानाचाल पर्वतको काखमा अवस्थित मथुरा गोकुलधाम जत्तिकैपवित्र तीर्थस्थल मानिन्छ | महाभारत कालमा श्री कृष्ण विचरण गर्नु भएको मथुरडांडा र बास बस्नु भएको दिव्य स्थान मथुरा तथा यसको वरपरको मनोरम बगैचा जस्तो जंगल, सिजनमा लटरम्म फली रहने आपका बगैंचा, बर्बरिकको तपोभूमि भूमि उलुकको केन्द्रविन्दु मथुराधाम-बल्कोट अनुपम छन् |

आत्मिक सन्तुष्टिको गन्तव्य स्थल लाग्ने रोचक प्रसंगहरु छन् | योगी नरहरिनाथको अगुवाइमा २०४३ सालमा सम्पन्न महायज्ञमा संलग्न पण्डितवर दिव्यदेव ज्ञवाली,अनिरुद्ध खनाल,योगी कोशालेश्वर पन्थी,रुद्रनाथआचार्य,जनार्दनआचार्य,आध्यात्मिकसाधक तथा समाजसेवी जीवनारायणअधिकारी,राजनीतिज्ञ शोभाकर भुसाल,गोपेश्वरपीठ मथुराधामका संस्थापक सचिव देवीप्रसाद खनाल,समाजसेवी खिमानन्द खनाल,कर्मयोगीतिलकरामभट्टराई,समाजसेवी पिताम्बरभट्टराई ,खड्गबहादुरअधिकारी, कृष्णप्रसादखनाल,ढुंडीराजभुसाल,कर्णबहादुरअधिकारी,मोतिराजभुसाल,हरिप्रसादपाण्डे,चोपलालखनाल,गोपालपन्थी-देवराजपाण्डे (ठूलापोखारा)  आदिको विराट सहभागितामा स्कन्धपुराण-हिमबत खण्डमा वर्णित तथ्यका आधारमा मथुरा र वरपरका पवित्र क्षत्रहरुको बारेमा चिन्तन-मनन एबं विचार-विमर्श र छलफल भएको थियो |

यसै सभाले करतलध्वनिका साथ एकमतले यो क्षत्रलाई “पन्चकोशी” भएको घोषणा गरेको थियो | यसका आधारभूत संरचनाहरु जस्तै राधाकृष्ण-हनुमान आदि मन्दिरहरुका साथै वृद्धाश्रम;गौशाला, स्मशानघाट आदि निर्माण भएका छन् | वर्तमान अध्यक्ष छंद भुसाल,उपाध्यक्ष ढुंडीराज अधिकारी सचिव ज्ञानबहादुर टन्डन कोषाध्यक्ष देवीप्रसादखनाल र खिमानन्दखनाल लगायतका समाजसेवीहरु रहनु भएको कार्यसमितिले समय सापेक्ष सुधार तथा नया-निर्माणका कार्यहरु अगाडी बढाउनु हुने आम अपेक्षा रहेको पाइन्छ |

अव ऐतिहासिक पुरुषको चर्चा गरौँ – दुइशय दुइ वर्ष अघि मथुराधाम-बल्कोटमा महत्वपूर्ण ऐतिहासिक घटना घटित भएको थियो | प्युठानको बारुद्खानाको जिम्मेवारी सम्हाली सकेका तत्कालिन सरकारका विश्वासपात्र जर्नेल बालनरसिंह कुवरजीलाई सिंजा क्षत्रको गुठी-विवाद समाधान गर्न सम्बत १८६९ मा जुम्ला खटाईएको थियो | जुम्लामा लामो समय बस्नु पर्ने देखि त्यहा जादा कान्छी कजेनी गणेश कुमारीलाई साथै लिएर गएका थिए |

समयक्रममा कजिनी गर्भवती भईन | आफ्ना पूर्खाहरु रमाएको जुम्ला क्षत्रमा कजेनीको गर्भधारणबाट सिंगो परिवार हर्षित हुनु स्वाभाविकै थियो | अहिलेको जस्तो संचार सुविधा नभए पनि पारिवारिक सल्लाहमा आफ्नो परम्पराको अनुशीलन गर्दै काजीले सातौं महिनाकी गर्भवती कजिनी गणेश कुमारीलाई बडो सुरक्षा र शान्सौकतसाथ १८०७ सालमा काठमाडौँ पठाए | इश्वरको अनुग्रह श्री कृष्णले अर्जुनलाई गीताको थप उपदेश गर्न कैलाश जाने क्रममा ( तेजनिधि पौडेल, देउराली पृष्ठ-८८ या अर्जुनको ससुराली उलुक र उनलाई औधी मन परेको अर्जुन/रिष्यश्रिंग-रेसुङ्गा लेक जाने क्रममा ? ) बास बस्नु भएको सुन्दर मथुरामा १८७४ साल आषाढ ०७ गते  दिउसो कान्छी कजेनी गणेश कुमारीले होनहार वालक जन्माइन | खेतमा काम गर्नबेसी झरेका किसानहरुमा महिलाहरुले गणेश कुमारीका सुसारेहरु सित मिलेर बालकलाई नुहाई-घुवाई गराउन सघाए,सुत्केरीको समुचित रेखदेख गरे |

मथुरा अहिले जस्तो थिएन उती बेला – घामपानीबाट ओतलाग्न एकाध फुशका झोपडी थिए होलान | मनसुनको समय भएकोले त्यतिबेलाका छाता उर्फ सेउ सबै संग थिए होलान ! कजेनी सबार उतिबेलाका सुविधा सम्पन्न डोला-तामदान आदिको व्यबस्था देखेर केहि किसानहरुले पक्कै ठूला-बडाको परिवार होला भन्ने लाख काटेकै थिए होला | वास्तविकता पनि त्यहि थियो | काजी बालनरसिंह कुंवरकी कान्छी कजेनी गणेश कुमारीलाई हुन् भन्ने भए पछि चिसापानी,बुढासेरा,बलेवांग सम्मका किसानहरुको ताती लाग्यो | हेर्ने किसानहरुले सात महिनाको होनहार बालक देखेर “ कति राम्रो, सात महिनामा जन्मेको बालक ,राजै हुन्छ “भनेको जनश्रुतिछ | “गोपेश्वरमहादेव”को प्रतीकात्मकलिंगमा उल्बेसी खोलाको कांचन जाला चढाउने प्रचन रहेको जनश्रुति छ | त्यस्तो पवित्र भूमिमा जंगबहादुर कुंवरजी राणा जन्मेका रहेछन |

त्यसलाई देखाएर ति पराक्रमी कर्मशीलहातहरुले अन्तर्मन देखि वालकलाई आशीर्वाद दिएछन् -“गोपेश्वर दाहिना रहुन“| बालक हेर्ने आशीष दिने, काख लिने क्रम सकिए पछि नवजात बालक र सुत्केरीलाई बहुतै जतनका साथ स्थानीय किसान र सुसारेहरुले मिलिजुली न्यानो-ओबानो ठाउ,बल्कोट ल्याए | त्यहाका पाण्डे थरका ब्राह्मणहरुले सुत्केरी र बालकको स्याहार-सुसारमा सघाए | एघारौं दिनमा खनाल थरका ब्राह्मणले ती वालकको नाउ बीर नरसिंह कुँवरजी राणा राखी दिएका थिए | केहि समय पछि सुत्केरी र वालकलाइ गन्तव्य तर्फ लगियो | स्मरणीय छ- कपिलवस्तुका राजा सुद्धोधनकी सातौँ महिनाकी गर्भिणी रानीमायादेवी पनि आफ्नो माइतीघर रामग्राम तर्फ जादै गर्दा मूलबाटो, लुम्बिनीमासिद्धार्थ गौतमलाई जन्माएकी थिइन् |

समय वित्दै गयो , बीर नरसिंह कुँवरजी राणा समयको खेल संगै जंगबहादुरराणा हुन पुगे | विभिन्न घात-प्रतिघातका बीच उनी (बीरनरसिंग राणा) १९०३ साल असोजमा नेपालको प्रधानमंत्री बने | यस क्षत्रका बासीन्दालाई जंग बहादुर नै बीरनरसिंहराणा हुन भन्ने हेक्का थियो-थिएन , अनुमानको विषय हो | तर प्रधानमन्त्री बने लगत्तै आफु जन्मेको ठाउ,मथुरामा २० रोपनी जग्गाको व्यबस्था गर्न लगाई आफ्ना विश्वासपात्र सेनापति तथा आफ्नै जेठान श्री सनक सिंह टन्डन लाहुरे क्षत्रीको नेतृत्वमा एउटा भव्य लामपाटी निर्माण गराए | यसै गरि न्वारन भएको ठाउ बल्कोटमा नेपालको मौलिकता झल्किने काष्ठकला वास्तुकलाले भरिपूर्ण पौवा, शत्तलहरु र दुइवटा मन्दिर निर्माण गराए | यसबारे आवश्यक अनुसन्धान अन्वेषण हुने क्रम जारी छ |

उती बेला बल्कोट दुर्गम थियो | त्यस्तो ठाउमा नेपालको मौलिकता झल्किने संरचना कसरि बने होलान ? तत्कालीन सुरेन्द्रबाट १९०४,१९०५,१९०६ र १९११ मा जारीलालमोहर तथा गुठी व्यबस्थापन हेतु गुठीधनीबाट जारी भएको दानपत्र १९५२ (“लुकेकोइतिहास:बल्कोटपौवा” अर्घाखाँचीसम्पर्कसदन ,काठमाडौँद्वारा प्रकाशित चिनारी-२०७३) अध्ययन गर्दा जंगबहादुरका ससुरा परशुरामखत्री उच्चकोटीका आध्यात्मिक चिन्तक,शैव थिए | उनैको नाउमा शिवालय र उनकी धर्मपत्नी पद्मावतीको नाउमा श्रीवाणलिँगेश्वर मन्दिर निर्माण गरिएको देखिन्छ | यी मन्दिरहरुमा रुद्राभिषेक, पन्चोपचारले नित्य-नैमित्तिक पूजा अर्चना र आरती हुन्छ | आध्यात्मिक चिन्तन-मनन गर्नेहरु विहानको नित्यपूजामा सहभागी हुने गर्छन | प्रत्येक दिन विहान बाजागाजा,नहरा-घंट र शंखको ध्वनिबाट बल्कोट गुन्जायमान हुन्छ |

श्रीपरशुरमेश्वर गुठीको पुरानो व्यबस्थाकीय संरचना पनि बृहत र व्यवस्थित देखिन्छ | गुठीको प्रमुख संचालकमा मुखिया र उनको सहयोगी बहिदार,पुजाहारी,भण्डारे,बाजा बजाउने बानेदार, कोइला,फूल टिप्ने कामदार, पौवाको लिपपोतगर्ने कामदार ,पाले-पहलेदार, ब्राह्मण-साधु-सन्यासी भोजनको व्यबस्थाकालागि भान्से आदिको तलव-सुविधा र ऋषिकेशव मन्दिर रिडीमा ठूलो एकादाशी,माघेसंक्रान्ति,बैशाखसक्रान्ति आदिमा दिपोज्ज्वलन,केरुङ्गा कालीमन्दिरमा धूपधजा र बली,धर्मशालाहरुमा पानीको प्रबन्ध लगायतका कामहरुका लागि समेतको खान्कीको व्यबस्था गर्न अब्बलदर्जाका पांचशय रोपनी जति खेतहरु खरिद गरि गुठी स्थापना गरिएको अभिलेखमा देखिन्छ | बल्कोटबाट ओहोर-दोहो गर्ने साधु सन्त महन्त-सन्यासी-फकिर-आगन्तुकहरुले चाहेमा तीनदिन सम्म बस्ने-खाने सुविधा समेतको प्रबन्ध थियो |

ती उर्बर खेतहरुमा-दर्लाम—दोमै,बलेवांग,चीसापानी,बुढासेरा,खेवा,पलासबोट,केतुखोला,लव्धी,जिमिरबोट,शिश्खोला आदि प्रमुख थिए भने आजा-पूजाका लागि आवश्यक पर्ने घ्युतेलका लागि असि कुरिया गुठीको व्यबस्था गरिएको थियो | स्मरणीय छ- उती बेलाका किसानहरुले नगदको सट्टा आफैले उत्पादन गर्ने जिम्सी तिरोभरोको रुपमा दिन सरल थियो | यसै आधारमा ध्यु-तेलको व्यबस्था गरिएको दानपत्रमा उल्लेख छ | समय बित्दैजादा जिन्सिलाई नगदमै भुक्तान हुने व्यबस्था पनि भयो | यस अघि २०३४ सालमा ठूलो पौवाको अग्रभागको पसेट मक्किएर कुनै पनि बेला ठूलो पौवा भत्किने सन्त्रास बढेको थियो | तत्कालीन मुखिया श्रीतिलकराम भट्टराईले आफ्नो खर्चमा तराईबाट अघ्राक-काठ झीकाइ मर्मत गराउनु भएको थियो | गुठीको दानपत्र,लालमोहरमा उल्लिखित मर्म र अक्षर अनुरुप २०४२ साल सम्म नियमितरुपमा धर्म-कर्महरु हुदै आएको स्थानीय जनताको कथन छ |

झन्डै पौने दुइशय वर्ष सम्म थेगेको ठूलो पौवाको अग्रभाग बने पनि झेङ्गटीको छाना अत्यधिक जीर्ण हुदा स्थानीय निकायका जनप्रतिनिधिहरुले सरोकारवाला,बुद्धिजीवी–समाजसेवीहरु समक्ष बल्कोटकै पहिचान समाप्त हुने गम्भीर स्थिति प्रति संबेदनशील हुन अनुरोध गरे | ड़ा.गोविन्द टन्डनको अगुवाइमा काठमाडौँमा विशेषत:टन्डनहरुको बैठक बस्यो | स्थानीय बासिन्दाको तर्फबाट काठमाडौँमा बस्ने गरेका सरकारी,गैर-सरकारी कर्मचारी तथा समाजसेवी व्यापारीहरुलाइ पनि आमन्त्रित गरि दीर्घकालीन सोचले श्री परशुरामेश्वर गुठीका संरचनाहरुको सुरक्षा,सम्रक्षण र सम्बर्धनका पक्षमा गम्भिर छलफल पछि पं.दीनबन्धु पोखरेलको प्राचार्यकत्वमा बल्कोट पौवामा बृहत महायज्ञको आयोजना गर्ने टुंगो लाग्यो | पौवामा आवश्यक तयारी भयो ; यथासमयमा महायज्ञ प्रारम्भ पनि भयो | प्रारम्भ राम्रो देखि जस्तै आशातीत आर्थिक संकल हुन सकेन |

प्रतिबद्धताको आधारमा संमानपत्र लिने तर भुक्तानी नगर्ने राजनीतिक कर्मीहरुको विडम्बनापूर्ण व्यबहारले सोचे जस्तो हुन नसकेको आमधारणा छ | जे जति आर्थिक संकल भयो–सबै स्थानीय जनता,समाजसेवी ,टन्डनबन्धुहरुबाट भयो | यसरि सङ्कलित आर्थिक श्रोतबाट ढल्नै आटेको ठूलो पौवाको छाना २०५६ सालमा मरम्मत सम्म हुनसक्यो | तर शत्तलहरु-पुजाहारी-कामदारहरु बस्ने घरहरु ढले ; त्यहाका इट्टा-झेङ्गटी र ढुंगाहरु गायव भए | त्यस्तै दारुणिक कथाछ –सानोपौवा,बुर्जाको | यो कुन बेला गर्ल्याम-गुर्लुम हुन्छ भन्ने सन्त्रासको स्थिति छ | युद्धको नाउमा हत्या-आतंक मच्चिदा श्री परशुरामेश्वरगुठीका ऐतिहासिक संरचनाहरु उपेक्षित मात्र होइन क्षतविक्षत हुन पुगेको अर्को राम कहानी छ |

पौवाको मौलिक पहिचान र कलाकृतिलाई बुर्जुवाहरूको अवशेष ठहराई नष्ट-ध्वस्त गर्ने उद्दण्डताले सीमा नाघेको अवस्थाको चित्रण गर्दा अतिशय पीडाबोध हुन्छ | यस कलारात्रीकालमा गुठीका असल-बाह्रैमहिना सिंचाई हुने उव्जाउ खेतहरु क्रान्तिकारिताको नाउमा हडप गरिए | न्यायको बारेमा बोल्ने जनताका प्रतिनिधिहरु चुनि-चुनि मारिए | आतंकको आगो दन्के पछि यातना-ताडना-मृत्युबाट बच्न सकेका समाजसेवी-स्वाभिमानीहरु देश भित्रै शरणार्थी बन्न पुगे ; गच्छे अनुसार काठमाडौँ,बुटवल,भारत र यत्र-तत्र टाउको लुकाउने प्रयत्न गरे | सुखद पक्ष के रह्यो भने –२०७५ सालमा केन्द्र,प्रदेश,स्थानीय सरकारको सहयोगमा बल्कोट पौवाको अग्रभाग पर्खालको पुनर्निर्माण भएकोछ |

बल्कोट: नहोचो,नअग्लो; न कठाँग्रिनेजाडो न उखरमाउलो गर्मी , बढीमा तीन हजार फीट अग्लो |

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.