बली दिन भारततर्फ लैजादै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाबाट उद्धार

रिपोर्ट नेपाल | 2020 Sep 30 | 07:20 pm 2557

सुनसरी, असाेज १४ः पैसाकाे प्रलाेभनमा पारी बली दिन भारततर्फ लैजादै गरिएकी दुई किशोरीको नेपाल भारत सीमाको भाण्टावारी नाकाबाट उद्दार गरिएको छ ।

सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजादै गरिएको अवस्थामा भारतसँग सीमा जोडिएको सुनसरीको भाण्टाबारी नाकाबाट उद्दार गरिएको सुनसरीका प्रहरी प्रवक्ता नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उद्धार गरिनेमा सप्तरीको दौलतपुर नगरपालिका–३ की १८ वर्षीया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ की २२ वर्षीया सुचिकला चौधरीको रहेका छन्।

उनीहरूलाई नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट उद्दार गरेको हो । ती किशाेरीहरूका साथ गएका सिरहाको कृष्णसवण गाउँपालिका–४ का २९ वर्षीय महमद साहिल अन्सारी र लाहान नगरपालिका–१९ का ३२ वर्षीय विवस कुमार साहलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रहरी नियन्त्रणमा रहेका एक पुरुषले भने प्रहरी समक्ष आफु किशोरीको आफन्त रहेको बताएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाको लागि भारत लैजाने सहमति अनुरुप आफू उनीहरुको सुरक्षाकाको लागि संगै आएको भनी प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रहरीलाई जानकारी गराए अनुसार भारत तर्फ लैजानु पूर्व उचाई समेत नापिएको थियो । त्यसैगरी हातको रेखा समेत हेरी पुजाका लागि योग्य भनि ठहर गरिएको थियो ।

प्रहरीलाई उनीहरुले दिएको जानकारी अनुसार सिमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजामा ध्यानमा बसे वापत १,२ लाख रकम दिने भनिएको थियो । किशोरीहरुलाई पुजामा ध्यानमा बस्ने सर्तमा लगेको देखिएकाले उनीहरुलाई बलीका लागि लगिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

नियन्त्रणमा रहेका पुरुष र उनीहरुको संलग्नतासहित घटनाको विषयमा थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.