बल प्रयोग गरेरै भए पनि फोहोर बिसर्जन गरिने

रिपोर्ट नेपाल | 2021 Sep 01 | 08:02 am 1573

काठमाडौं, भदाै १६ः काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर आजबाट व्यवस्थापन हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक सहितको बैठकले बुधबारबाट उपत्यकाको फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं उपत्यकाको फोहोर बुधबार बिहान ६ बजेबाट उठाउने निर्णय भएको बताए । उनले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर सडक विभागले सिसडोल ल्यान्डफिल साइटसम्म पुग्ने बाटो तत्काल व्यवस्थापन गर्ने निर्णय भएको जानकारी पनि दिए ।

फोहोर उठाउने र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने निर्णय भएको जानकारी दिँदै उजले भने– ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने सहमति भएको छ ।’

पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गरिने जानकारी दिँदै भन्नुभयो–‘स्थानीयस्तरमा स–साना विषय भए महानगरपालिकाले समन्वय गर्छ । मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु, उहाँहरूको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौं । तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेसम्म सम्झाइ–बुझाई गरेर शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौं । भएन भने नियमका साथै बल प्रयोग गरेरै भए पनि व्यवस्थापन गर्छौं ।’

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले स्थानीयका समस्या महानगरपालिकाले नै समाधान गर्न सकिने भए आफैं गर्ने नसकिने समस्या भए हामी सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्ने जानकारी दिए । उनले सहयोगका लागि महानगरपालिकाले प्रधानमन्त्री र विभिन्न निकायसँग अपिल गर्दै आएको जानकारी पनि दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.