बर्थ डे को नाममा लागुऔषध सेवन, मकवानपुरमा मात्र पाँच हजार लागुऔषध प्रयोगकर्ता

रिपोर्ट नेपाल | 2019 Jan 10 | 11:27 am 2931

हेटौंडा, पुस २६ : हेटौंडा–९ की कमला मिजार हेटौँडाको एक उद्योगमा कार्यरत छिन्। आफ्नो छोराको असाध्यै माया गर्ने उनले छोरालाई दैनिक एक-दुई सय खर्च दिने गर्थिन्, आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै कन्जुस्याइ गरिनन्।

नौ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उनले ध्यान नै दिन भ्याइनन्। आफू घर आउँदा छोरा घरमै पाउँदा कमला छोराप्रति झन् गद्गद् नै हुन्थिन्। विस्तारै छोरो धेरै नै सुत्‍ने र उसको आँखा रातोरातो हुने गरेको देखेपछि भने कमलाको मनमा शंका उब्जियो र निगरानी गर्दा उ कुलतमा लागेको थाहापाएपछि भने छाँगाबाट खसेको जस्तै भइन्।

बारम्बार साथीको जन्मदिन भन्दै छोरो कहाँ जान्छ वा आफू अफिस गएको बेला छोरोले के गर्दोरहेछ भन्ने थाहा पाउन उनले धेरै नै कुर्नुपर्‍यो। छोरोले लागुऔषध सेवन गर्ने गरेको थाहा पाउनुअघि उनले अस्पताल मात्र होइन, ‘माता’ कोमासमेत धाइन्। माताले छोरोलाई कसैले बिगार पारेको भनेर खरानी फुकेर खानदिए पनि रोग निको नभएकाले पछि आफन्तको सल्लाहमा सौजन डिसीसँग भेट गरिन्। डिसी पूर्व लागुपदार्थ प्रयोगकर्ता भएपनि अहिले उनी दुर्व्यसनीविरुद्धको अभियानमा लागेका व्यक्ति हुन् ।

डिसीले कमलाको छोरालाई दुर्व्यसनबाट छुटकारा मात्र दिलाएनन् मानव जीवनको महत्व पारिवारिक सम्बन्धबाट हुने फाइदाबारे पनि सिकाए। प्रशस्त पैसा भएपनि र आमाबाबुको ध्यान नपुग्दा छोराछोरी कुलतमा पनि सक्छन् भन्ने उदाहारण हो। कमला मिजारको सत्यकथा।

जिल्ला लागुऔषध समन्वय समितिले लागुऔषधको प्रयोगको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा हेटौँडामा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै कमला मिजारले आफूले भोगेका पीडा सुनाएकी हुन्। आमाले बोलिरहँदा छोरा विश्वास भने मुसुमुसु हाँस्दै आमाको भिडियो खिच्दै थिए। जिल्ला लागुऔषध समन्वय समितिका संयोजक सन्दीप शाक्यका अनुसार मकवानपुरमा ७२० जनाले सुइमार्फत लागुऔषध प्रयोग गर्दै आएका छन्। अन्य विधिमार्फत लागुऔषध प्रयोग गर्नेको सङ्ख्या पाँच हजारभन्दा माथि छ । मकवानपुरमा छ वटा पुनःस्थापना केन्द्र छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.