बर्खास्त एसपी विष्ट भन्छन्, ‘ सत्य र इमान्दारिताको पक्षमा वकालत गर्दा जागिर गयो’

| 2018 Dec 23 | 09:19 am 1731

काठमाडौं, पुस ८ : कञ्‍चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिर नै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले हिजोआज समाजिक सञ्जाल फेसबुकमार्फत आफना पीडा पोख्‍न थालेका छन्।

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमानदारिताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको उल्लेख गरेका छन्। ‘सत्य–इमानदारिता र असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको त अन्त्य भयो, तर निष्ठा र स्वभिमानको अन्त्य भएन। खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ, तर कहिल्यै मर्दैन’ ,सामाजिक सञ्जाल फेसबुकमा विष्टले लेखेका छन्।

उनले असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको, तर निष्ठा र स्वाभिमानको अन्त्य नभएको उल्लेख गरेका छन्। खडेरी परेका बेला सत्य ओइलाउन सक्ने, तर कहिल्यै नमर्ने कुरा समेत उहाँको फेसबुक स्ट्याटसमा लेखेका छन्। विष्टले दिनमा झन्डै एक/एक घन्टाको अवधिमा ६ देखि १० वटासम्मका पीडादायी स्ट्याटस लेख्‍ने गरेका छन। उनले आफ्नो स्ट्याटसमा आफनो जागिरे अवधीभर एक पटक पनि नैसिहत नखाएको इमानदार प्रहरी हुँदाहुँदै पनि विनाआरोप फसाइएको समेत लेखेका छन्।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापरबाही गरेको भन्दै एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको छ। उनीहरूलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा कात्तिक ८ गते बिहीबार गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.