बरु मर्छु राजधानी गएर उपचार गराउँदिनँ

रिपोर्ट नेपाल | 2018 Jul 14 | 06:49 am 2062

जुम्ला,असार ३० : स्वास्थ्य शिक्षा भित्रको विकृति रोक्न र माथेमा आयोगको प्रतिवेदन लागुगर्न माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गराउन अस्वीकार गरेका छन् । औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बित्दा पनि सरकारले चासो नदेखाएकोमा उनी आक्रोशित छन् ।

केसीले शुक्रबार उपचारमा संलग्न चिकित्सकलाई आफ्नो स्वास्थ्य जाँच नगर्न आग्रह गरे । ‘सरकारले मलाई मरे मरोस् भन्ने चाहन्छ भने आजदेखि कुनै स्वास्थ्य परीक्षण र उपचार गराउँदिनँ,’ उनले भने, ‘तीन करोड नेपालीको हितका लागि मर्नुपरे पनि तयार छु ।’ सरकारले काठमाडौं आएपछि मात्रै वार्ता हुन्छ भन्नु झुक्याउने चाल मात्र भएको केसीको भनाइ छ ।

सरकारसँग पटक पटक वार्ता भएर पनि लागु नभएको भन्दै डा. केसी १५ औं पटक आमरण अनशन बस्न बाध्य भएका थिए । यस अघिको सत्याग्रह राजधानीमै गरिए पनि उनको यस पटकको सत्याग्रह जुम्लामा १५ औं दिन देखि जारी छ ।

यस पटकको सत्याग्रहमा डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बनिरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसी अर्धचेत अवस्थामा पुगेका छन् ।

उनको स्वास्थ्य स्थिति थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए । शरीरमा अक्सिजन साथै ग्लुकोजको मात्रा एकदमै न्यून छ,’ उनले भने, ‘मस्तिष्कमा रक्तसञ्चार निकै कम छ ।’ डा. केसी बेला–बेलामा अर्धचेत अवस्थामा पुग्ने गरेको उनले बताए । केसी पटक पटक अर्धचेत अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.