बन्चरेकाे पाँच हजार रोपनी जग्गा अधिग्रहण गर्न माग

रिपोर्ट नेपाल | 2019 Sep 25 | 07:34 am 1630

काठमाडौं, असाेज ८: धादिङ र नुवाकोट सिमानास्थित बन्चरे क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको करिब पाँच हजार रोपनी जग्गा अधिग्रहण नगरे निर्माणाधीन बन्चरे ल्यान्डफिल साइटको निर्माण रोक्ने र सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने चेतावनी दिएका छन्। सरकारले मंसिरदेखि बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले यस्तो चेतावनी दिएका हुन्।

शहरी विकास तथा भवन निर्माण विभागले बन्चरे डाँडा ल्यान्डफिल साइटको एक दर्जनभन्दा बढी संरचना निर्माण गरिरहेको अवस्थामा स्थानीयले आफ्नो माग पूरा गर्न नसकेको भन्दै फोहोर रोक्ने चेतावनी दिएका हुन्।

स्थानीय श्रीराम ढुंगानाले १३ गाउँको करिब पाँच हजार रोपनी जग्गा अधिग्रहण नगरे बन्चरे ल्यान्डफिल साइटको सबै काम रोक्ने बताए।उनले भने– ‘पटक–पटक वार्ता गर्यांै, हाम्रो कुराको सुनुवाइ भएन, जबसम्म बन्चरे ल्यान्डफिल साइटका प्रभावित जनताको स्वामित्वमा रहेको जग्गा अधिग्रहण गरिँदैन तबसम्म बन्चरेको काम रोक्छौं, अनि सिसडोलमा फोहोर व्यवस्थापन गर्न दिँदैनौं।’

सरकारले ऐलानीसहित बन्चरेडाँडा ल्यान्डफिलका लागि करिब एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ। सोहीअनुसार सरकारले बन्चरेडाँडामै फोहोर व्यवस्थापन गर्ने तयारी थालेको छ।सरकारले करिब एक अर्ब रुपियाँ खर्च गरेर बन्चरे ल्यान्डफिल साइटमा विभिन्न संरचना निर्माण गरिरहेको छ।

संरचना निर्माण गर्नसक्ने सरकारले जग्गा अधिग्रहण गर्न नसक्ने कुनै विषय नै हुँदैन, ढुंगानाले भने– हाम्रो मागको विषयमा सुनुवाइ नगरेको कारण दशैंलगत्तै फोहोर ढुवानी ठप्प पार्ने तयारी गरेका छौं।

उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिसकिएको छ।

सरकारले २०६२ सालमै तीन वर्षभित्र बन्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो। तर ११ वर्ष बितिसक्दा पनि बन्चरेडाँडाको पूर्वाधार बन्न सकेको थिएन।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले मंसिरबाट बन्चरे ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए। नेपाल समाचारपत्रमा प्रकाशित

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.