बढिरहेछ हेपाटाइटिसका बिरामी, सर्ने एक कारण- असुरक्षित यौन सम्पर्क !

| 2018 Jul 28 | 07:44 am 1875

पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका पाइएको छ। विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई हेपाटाइटिस भनी बुझिन्छ । अर्थात्, कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो ।

हेपाटाइटिसलाई एदेखि इसम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन् । नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन हेपाटाइटिस ‘बी’ को संक्रमण बढिरहेको बताउँछन् । अन्य हेपाटाइटिसभन्दा ‘बी’ बाट बढी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यसबारे विषयमा बहस गर्नुपर्ने समय आएको उनले बताए ।

पछिल्लो समय हरेक दिनजसो टेकु अस्पतालमा हेपाटाइटिस ‘बी’ का संक्रमित आउने गरेको र यौनसम्पर्क र रगतका माध्यमबाट हुने यस रोगबारे धेरै व्यक्ति अनभिज्ञ भएकाले उपचारमा पनि निकै कम आउने गरेको उनको भनाई छ ।

सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत जाँच गराउँदा ‘बी’ को संक्रमण भेटिएको डा पुनको भनाइ छ । सुत्केरीको रगत जाँच गर्दा र रक्तदानलगायत नर्स पनि यसको उच्च जोखिममा रहेका छन् ।

सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दायाँ कोखामा अप्ठ्यारो हुनेलगायत लक्षण देखा पर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सकको भनाइ छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेशकुमार कश्यपले नेपालमा कूल जनसंख्याको तीन लाख ८० हजार तर्थात् दुई लाख ५० हजार मानिसमा हेपाटाइटिस बी र करीब एक लाख ३० हजार मानिसमा हेपाटाइटिस सी भएको अनुमान गरिएको जानकारी दिए ।

उनले भने, “बी र सी हेपाटाइटिसका कारण हरेक वर्ष संसारका १३ लाख मानिसको मृत्यु मृत्यु हुन्छ ।” क्यान्सरबाट मृत्यु १२ जनामध्ये एक जना कलेजोको क्यान्सरबाट मृत्यु हुन्छ । एचआइभी एड्स, क्षयरोग र मलेरिया नियन्त्रण र उपचारमा लगानी गरे पनि हेपाटाइटिसमा ध्यान नदिएका कारण यसबाट हुने मृत्युदर बढिरहेको उनी बताउँछन् ।

हेपाटाइटिस बीको संक्रमण भएका ९० प्रतिशत मानिसलाई र हेपाटाइटिस सीको संक्रमण भएका ८० प्रतिशत मानिसलाई यसबारे जानकारी नै नभएको डा कश्यपको भनाइ छ । जानकारी नभएको उनीहरुले आफन्त र साथीभाइलाई पनि संक्रमित बनाइरहेको चिकित्सकको भनाइ छ ।

हेपाटाइटिस बि आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखि ९० प्रतिशत बच्चामा हेपाटाइटिस बी दीर्घरुपको संक्रमणका रुपमा देखिन्छ । जसमध्ये एक चौथाइ युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।

संसारमा हेपाटाइटिस बि र सीबाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदरभन्दा बढिरहेको छ । कलेजोको क्यान्सरबाट मृत्यु हुने तीनमध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् । हजारभन्दा कम मूल्यमा पाइने खोप उपलब्ध भए तापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।

चिकित्सकका अनुसार संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्नसक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी र सीको परीक्षण गराउनुपर्छ । रक्तसञ्चारका क्रममा सावधानी अपनाउने र हेपाटाइटिस बी र सीको परीक्षण गरेरमात्र रक्तदान गर्ने, मेडिकल उपकरण तथा औजारलाई स्टेरिलाइजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ र असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.