बझाङमा अवैध घरेलु मदिरा नष्ट

रिपोर्ट नेपाल | 2018 Oct 08 | 11:18 am 1429

बझाङ, असोज २२ : घरमा अन्न कुहाएर बनाइने घरेलु मदिरा बझाङमा ठूलो मात्रामा नष्ट गरिएको छ । जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको हो ।

स्वास्थ्यमा प्रतिकुल असर गर्ने घरेलु मदिरा नष्ट गर्न र उत्पादन बन्द गर्न जिल्लामा रहेका सामाजिक संस्थाहरुले आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँमा छापा मारी नष्ट गरेको हो ।

जिल्लास्थित चैनपुरको भोटेटोल, भोपुर र मष्टाको पुरीगाउँलगायतका स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ । सदरमुकाम चैनपुरको भोटेटोलबाट मात्रै एक हजार लिटर मदिरा बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।

चैनपुर आसपासबाट बरामद गरिएको मदिरा चैनपुरको रिङरोडबाट सेती किनारमा नष्ट गरिएको छ ।

चाडपर्व नजिकिएसँगै बझाङका सबै ठाउँमा जुवा खेल्ने, खेलाउने, मदिरा बिक्री वितरण गर्ने गिरोह सक्रिय हुने गरेका छन् । चैनपुरलगायतका ठूला बजारमा जथाभावी बोल्दै हो–हल्ला गर्दै हिड्ने समुहको लहर बढेको र जताततैबाट प्रहरीको मिलोमतोमा जुवातास खेलाइएका गुनासो आउन थालेपछि थप कडाइ गरिएको नायव उपरीक्षक धितालले बताएका छन् ।

केही दिन अघि जिल्लासभाले जिल्लामा पूर्ण रूपमा मदिरा बन्द गराउने निर्णय गरेको थियो । तर, त्यसको विरोधमा उद्योग वाणिज्य सङ्घ बझाङले उच्च अदालत दिपायलमा मुद्दा हालेपछि अदालतले अर्को आदेश जारी नभएसम्मका लागि मदिरालाई बन्द नभई नियन्त्रण गर्न आदेश दिएपछि जिल्लामा छापा मार्दै मदिरा नियन्त्रण गर्न लागिएको छ । मदिराका कारण बझाङ जिल्लामा वर्षेनी कम्तीमा १५ देखि २० ले ज्यान गुमाउने गरेका छन् भने अर्कातिर घरेलु हिंसासमेत बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.