बझाङ जीप दुर्घटनाका मृतक सातै जनाकाे सनाखत

| 2022 Oct 20 | 07:23 am 1389

बझाङ, कात्तिक ३ः बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा मस्टा गाउँपालिका–३ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया वसन्ती धामी कठायत, ३८ वर्षीय वीरेन्द्र आधिकारी, ७ महिने बालिका दिक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएकामा ५ जनालाई जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएको छ । ११ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जीप दुर्घटना हुँदा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

बझाङको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरूप दुई लाख उपलब्ध गराउने भएको छ । तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट दुई लाख उपलब्ध गराउने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.