बजीरलाई बचाउन सहयोगको अपिल

रिपोर्ट नेपाल | 2020 Nov 26 | 05:39 pm 10261

काठमाडौं, मंसिर ११ः आफ्नो ओठमा जुँगाको रेखी नबस्दै नेपाली जनतालाई रैतीबाट नागरिक बनाउँदै कोही पनि जनता रोग र भोकले नमरुन भन्ने सोचका साथ प्रजातान्त्रिक आन्दोलनमा होमिएका प्रजातान्त्रिक योद्धा बजीर थापा यतिखेर भने आफै जिवन मरणको दोसाँधमा अस्पतालको बेडमा छटपटाइ रहेका छन् ।

नेपाली कांग्रेसद्वारा २०४२ मा आब्हान गरिएको सत्याग्रह आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका बजीर थापाले त्यस बेला पंचायती सरकारको छ महिना कठोर जेल जीवन बिताएका थिए ।

वीपी कोइरालाको समाजवादबाट प्रभावित भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थापा विगत केही वर्ष देखि नेपाली कांग्रेसले वीपीको सिद्धान्त बिक्री गरेको भन्दै आक्रोशित छन् ।

वीपी कोइरालाका सच्चा अनुयायी बजीरले वीपीले भनेजस्तो कोही पनि रोगले मर्नु नपरोस भनेर प्रजातान्त्रिक आन्दोलनमा लागेका हुन् ।

विगत एक वर्षदेखि घाँटीको क्यान्सरसँग लड्दै आएका थापाको रोग भारतको दिल्लीमा पहिचान भएको थियो । रोगको पहिचानपछि चितवनको भरतपुर क्यान्सर अस्पतालमा एक महिना अघि उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि क्यान्सरको ट्युमर बढेका कारण किमो चढाउन नमिलेको उनका छोरा निरोज थापा बताउँछन् ।

आर्थिक रुपमा मध्यम परिवारका थापाको उपचारको क्रममा सबै धनसम्पत्ती समाप्ती भएपछि उनले अहिले ह्याम्स अस्पतालको शैयाबाट जिवन रक्षाका लागि आग्रह गरेका छन् ।

थप उपचारका लागि काठमाडौं आएका थापाको स्वास्थ्य स्थिति अझ बढी बिग्रीएपछि आफ्ना नाता पर्ने त्रिबिक्रम थापाले अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउँदासम्म स्थिति अत्यन्तै नाजुग भएको त्रिबिक्रम थापाको भनाई रहेको छ ।

अस्पताल पुर्याउनासाथ बजीरलाई आकस्मीकमा राखेर उपचार सुरु गरिएको थियो । अस्पताल पुर्याउनासाथ उनले बान्ता गरेका थिए । आर्थिक अभाव र रोगको पीडाले आँखाबाट आँसु बगाएका थापाको स्थिति देखेपछि रिपोर्ट नेपाल डटकमले आफ्नो सामाजिक दायित्व अनुसार बजीर थापा बचाउ अभियान सुरु गरेको छ ।

पंचायती कालरात्रीमा आफू अध्यक्ष रहँदा लडाकु, जुझारु बजीरको आँखामा आँसु देखेपछि मन थाम्न नसकेका बसन्त भुजेलले जसरी पनि बचाउनु पर्ने बताएका छन् ।

जुन बेला पंचायतका बिरुद्ध बोल्न लेख्न पाइदैनथ्यो त्यो बेला तर्क संगत तरिकाले संगठन गर्ने र बोल्ने बजीरको उपचारको लागि सहयोग गर्न समेत भुजेलले आम नेपालीसँग आग्रह गरेका छन् ।

बजीरको जिवन रक्षा गर्नका लागि सहयोग गर्न चाहने दाताहरुले उनको छोरा निरोज थापाको बुटवलको राममन्दीरमा रहेको ग्लोबल आइएमई बैंकको बचत खाता नम्बर १७०८०१००००५१६ मा जम्मा गरी उनको मोबाइल नम्बर ९८५७०७०६६२ मा सम्पर्क गर्नुहुन रिपोर्ट नेपाल आग्रह गर्दछ । बजीरलाई बचाउन सहयोग गर्ने दाताको विवरण रिपोर्ट नेपालले प्रकाशित गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.