बंगलादेशमा उपाधि जित्ने महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने

रिपोर्ट नेपाल | 2019 Nov 15 | 07:10 pm 3316

काठमाडौं, कात्तिक  २९ : नेपाली महिला भलिबल टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि जितेको नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो। परिषद्का सदस्य सचिव रमेश सिलवालले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए।

यसअघि बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।

नेपालले बिहीबार भएको उपाधि भिडन्तमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको थियो। उपाधि जित्ने क्रममा नेपालले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुमाए। समूह चरणमा अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो।

नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो। नेपालले सन् २००६, २०१० र २०१६ को साग पनि कास्य पदक हात पारेको थियो। नेपाली महिला भलिबल टिमले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजत पदक हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.