धनुषा, असोज ८: सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ। जिल्ला अदालतले रायलाई फेसबुकमा संविधानविरोधी गतिविधि सेयर गरेकै कारण जागिरबाट हटाएको हो।
संविधानविरोधी समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका कारण करारमा कार्यरत उनलाई हटाइएको अदालतले दाबी गरेको छ। संविधान दिवसका दिन संविधानविरोधी समाचार फेसबुकमा सेयर गरेको भोलिपल्ट किन सेयर गरेको भनेर स्रेस्तेदारले मौखिक स्पष्टीकरण सोधेको रायले बताइन्। ‘न्यायालयमा उच्च मनोबलका साथ न्याय खोज्न आउँछन् तर मलाई न्यायालयबाटै अन्याय भयो’, आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले भनिन्, ‘न्यायालयले नै अन्याय गरेपछि म कहाँ जाऊँ?’
जिल्ला अदालत धनुषाका स्रेस्तेदार राधाकृष्ण झाले गुञ्जा राय करारको कर्मचारी भएको र काम सन्तोषजनक नभएकाले म्याद थप नगरिएको बताए। महोत्तरी पिपरा गाउँपालिका–४ स्थायी घर भएकी उनले आफ्नो अभिव्यक्ति दिने स्वतन्त्रता र मौलिक अधिकार तथा नागरिक स्वन्त्रता हनन भएको दाबी गरिन्। जिल्ला अदालतले समाचारको लिंक सेयर गर्दा जागिरबाट निकालेर अन्याय गरेको उनको आरोप छ।
२०७३ पुस १७ गतेदेखि जिल्ला अदालतको खरिदार (डिट्ठा) पदमा कार्यरत रायले असोज ३ गते मधेसमा ब्ल्याक आउट, प्रदेश २ का मुख्यमन्त्री संविधान दिवसमा सहभागी नभएको तथा सीके राउतसम्बन्धी समाचार सामाजिक सञ्जालमा साभार गरेकी थिइन्।
रायलाई ४ गते जिल्ला अदालतका स्रेस्तेदार राधाकृष्ण झाले संविधानविरोधी पोस्टरहरू सेयर किन गरेको भनी स्पष्टीकरण सोधेका थिए । भोलिपल्ट कार्यालय पुग्दा करार म्याद सकिएको पत्र दिएर रायलाई अदालतबाट फर्काइएको बताइन्।
रायसँगै करारमा नियुक्त १० मध्ये ९ जनाले जिल्ला अदालतमा काम गरिरहेका छन् । ‘म समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकै कारण निकालिएकी छु,’ उनले भनिन्।