फेरि बढ्न थाल्यो सुनको मूल्य

रिपोर्ट नेपाल | 2024 Mar 04 | 07:56 am 769

काठमाडौँ, फागुन २१। स्थानीय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ ।  एक महिनाअघिदेखि घट्दै गएको सुनको मूल्य अहिले आएर पुनः बढ्न थालेको हो । आइतबार सुनको मूल्य बढेर प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएको छ ।

गत शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर एक लाख २१ हजार पुगेको हो । फागुन ३ मा तोलाको एक लाख १६ हजार पाँच सय रुपियाँ रहेको सुनको मूल्य १७ दिनपछि आइतबार एक लाख २१ हजार रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । १७ दिनमा सुनको मूल्य तोलामा पाँच हजार पाँच सय रुपियाँ बढेको छ ।

अन्तर्राष्ट्रियमा आइतबार सुनको मूल्य बढेर दुई हजार ८३ अमेरिकी डलर पुगेको छ । जसले गर्दा नेपाली बजारमा आइतबार एकै दिन प्रतितोला दुई हजार रुपियाँले सुनको मूल्य बढ्यो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेकाले स्थानीय बजारमा समेत मूल्य बढ्न थालेको जानकारी दिनुभयो । “अमेरिकी फेडरल रिजर्भ बैङ्कले मार्च महिनादेखि ब्याजदर घटाउने भने पनि ब्याजदर अझै घटेको छैन,” उहाँले भन्नुभयो, “बेरोजगारी बढेपछि आम्दानी गर्न सुनमा लागेपछि मूल्य बढ्न गएको देखिन्छ ।” लामो समयदेखि स्थिर अवस्थामा रहेको सुनको मूल्य एक्कासि बढ्न थालेको उहाँको भनाइ छ । ब्याजदर घटेपछि सुनको मूल्य बढेर एक लाख २५ रुपियाँसम्म पुग्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

लगनको सिजन सुरु भए पनि सुनको कारोबार भने बढ्न नसकेको उहाँको भनाइ छ । दैनिक आयात भइरहेको २० केजी सुनले बजार माग धान्ने गरेको व्यवसायीको भनाइ छ । मूल्य बढेकाले बजारमा सुनको माग बढ्न नसकेको व्यवसायीको भनाइ छ । महासङ्घका अनुसार विगतका वर्ष लगनका समयमा दैनिक ४० देखि ५० किलो सुनको माग हुने गरेकामा हाल दैनिक २० किलोले माग धानिरहेको छ । पछिल्लो समय व्यवसायीले पुराना गहना साट्न आउने र त्यसमा थपेर नयाँ लाने गरेको व्यवसायीको भनाइ छ । बजारमा सुनको माग न्यून हुँदा कारोबारमा समेत उल्लेख्य गिरावट आएको छ । हाल सुनको कारोबार घटेर ३० प्रतिशतमा झरेको छ । सामान्य अवस्थामा वार्षिक एक खर्ब रुपियाँ बराबरको सुनको कारोबार हुने गरेको र यसबाट सरकारलाई नौ अर्ब रुपियाँ राजस्व हुने गरेको छ ।

सुनको आयात ५५ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको सात महिनामा सुनको आयात ५५ प्रतिशतले घटेको छ । बजारमा माग कम हुँदा सुनको आयातमा उल्लेख्य कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा १३ अर्ब ४७ करोड २९ लाख ३२ हजार रुपियाँको ८२१ किलो सुन आयात भएको छ । गत वर्ष सो अवधिमा ३१ अर्ब २७ करोड ५५ लाख रुपियाँका एक हजार २५ किलो सुन आयात भएको छ । सुनको आयात कम हुँदा राजस्व सङ्कलनमा समेत कमी आएको छ ।

(गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.