फेरि फैलिँदै कोरोना: १७ जिल्ला अति उच्च जोखिममा

रिपोर्ट नेपाल | 2021 Jul 29 | 07:54 am 2209

काठमाडाैं, साउन १४ः निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।

सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्। जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए। ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा. अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै  गए व्यवस्थापन गर्न गाह्रो हुन्छ।’

एक संक्रमितले एक वा सोभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जाने विज्ञ बताउँछन्। संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ। त्यसका लागि भरपर्दो विकल्प खोप लगाउने हो। तर, खोप केन्द्र टाढा हुँदा कतिपय खोपबाट वञ्चित भएका छन्। कतिपय ठाउँमा खोप दुरुपयोग भई लक्षित समूहले लगाउन पाएका छैनन्। ‘सरकारले घर–घरमा गएर खोप लगाइदिने रणनीति तयार गरेको छैन। कार्यविधि बनेको पनि छैन,’ सह–प्रवक्ता डा. अधिकारीले भने।

खोप जतिसक्यो चाँडै लगाउनुपर्ने विज्ञको सुझाव छ। डा. अधिकारीका अनुसार हालसम्म मुलुकभर ८८ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त भएको छ। त्यसमध्ये ५० लाख ४७ हजार ३ सय ५५ डोज प्रयोग भइसकेको छ। ३५ लाख ४४ हजार ४३ जना व्यक्तिले एक डोज खोप लगाइसकेका छन्। १५ लाख  ३ हजार ३ सय १२ जनाले पूर्णडोज लगाइसकेको डा. अधिकारीले बताए।

उनका अनुसार सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान अघि बढाइरहेको छ। दोस्रो डोज लगाउनुपर्ने व्यक्तिलाई पनि चाँडै लगाउने गरी काम अघि बढाइएको छ। खोप लगाउन बाँकी १८ वर्ष माथिका जति पनि जनसंख्या छ, खोप लगाउने काम अहोरात्र भइरहेको उनले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.