फेरि जन्मेलान् त स्वर सम्राट ?

| 2018 Dec 05 | 07:11 am 3216

काठमाडौं, मंसिर १९ :  ‘म त लालीगुराँस भएछु,  वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’

नेपाली सांगितिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मंसिर १९ गते २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ ।

‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाउनुभयो, सबै गीत त्यति नै उचाइका छन् ।

विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे र त्यही बेलादेखि नै उनले आफ्नो सांगितिक यात्र शुरु गरेका थिए। सबैभन्दा पहिला उनले साथी मणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेका थिए। पहिलो पटक उनले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए।

उनका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भनेका छन्, “नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उहाँको गीत जति उचाइमा छ, उहाँको मूर्तिको पनि कुनै मूल्य छैन ।” उनलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं उनी आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्तित्व थिए।

‘यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिमी नै भनिदेउ ए… जाने नि निठुरी’

नारायण गोपाल स्वयंको शब्द र संगितमा रहेको यस गीतमा पंकज सिग्देलले संगित दिएका थिए। आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उनको स्वभाव नरहेको संगितकार बुलु मुकारुङ बताउछन्।

“उहाँलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुनुहुन्न थियो”, मुकारुङ थप्नुहुन्छ, “उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनुहुन्थ्यो ।” उहाँलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उहाँलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको उहाँ बताउनुहुन्छ । “आजभोलि नपिउने त को नै होलान र !”, बुलुले आक्रोश पोखे।

नारायण गोपालको भेट दाजर्लिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उनको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उनीहरुको मितेरी साइनोसमेत जोडिएको थियो ।

नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाएका थिए। उनलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ। योञ्जनसँगै उनले दार्जिलिङका हरिभक्त कटुवालका गीतसमेत गाएका थिए।

‘जुन फूल मैले टिपेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उनले गाएका थिए। दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग भयो। त्यो भेटघाटले प्रेमको रुप लिई विवाहसमेत भएको थियो । पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उनी र श्रीमती परिवारबाट छुट्टिएर बस्नुपरेको थियो । उनी निःसन्तान भएपनि पारिवारिक कारणबाट कहिल्यै निराश भएनन्।

विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् । अन्यभन्दा फरक शैलीका नारायण गोपाल भने कहिल्यै चाकडी गर्न रुचाएनन्। जो आफूसँग पनि चाकडी गर्न खोज्छ, उनी कहिल्यै पनि त्यस्ता व्यक्तिसँग संगत गर्दैनथे। सीमित व्यक्तिसँग मात्र मित्रता र संगत गर्ने स्वभावका नारायण गोपाल निकै गम्भीर स्वभावको थिए।

नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको भए पनि उनी नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको भएको सङ्गीतकार भूपेन्द्र रायमाझी बताए। सङ्गीतकार रायमाझीले भने, “उहाँको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।” उहाँले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गर्नुभयो। आफूले एकपटक भेटेको व्यक्तिलाई उहाँ कहिल्यै पनि नभुल्ने स्वभाव भएको रायमाझीले बताए।

नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत शब्द दिएका थिए। उनले गाएको ‘जाग लम्क चम्क हे नौ जवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय छ । ‘नारायण गोपाल एकल साँझ’ ले उनलाई अझै चर्चाको शिखरमा पुर्‍याएको थियो । उनले आफ्ना समकालीन ‘तारादेवी’, ‘नातिकाजी’, ‘शिवशङ्कर’, ‘रत्नदास’, ‘प्रेमध्वज प्रधान’, ‘बच्चु कैलाश’ लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिएका थिए। ‘हे कान्छा ठट्टैमा यो बैस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिएका थिए। आज यो गीतमा अन्य शब्द घुसाएर नयाँ रुप दिइएको छ ।

उनले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्‍नशम्शेर थापा, कञ्‍चन पुडाशैनीलगायतको शब्दमा स्वर दिएका थिए। ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उनका गीतका प्रमुख विशेषता हो। उनले पहिलोपटक प्रेमध्वज र मणिकको संगितमा गीत गाएका थिए। राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा कार्यरत उहाँमा कहिल्यै पनि घमण्ड भने थिएन।

नाचघरमा उनी कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी संगितका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुगेका थिए। सोही भेटमा नारायण गोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको कुरा अझै सायमी स्मरण गर्छन्। पछि उनले विसं २०३९ मङ्सिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाएकी थिए।

सोही भेटघाटपछि दुईजनाबीच आत्मियता बढ्दै गएको उनी बताउँछन्। उनले भने, “सायद नारायण गोपालजस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।” नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उनी बताउँछन्। उनले थपे, “उहाँ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्नुभएन र आफ्नो प्रशंसा पनि रुचाउनुभएन।” नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने निर्देशक तथा लेखक प्रकाश सायमीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.