काठमाडौँ, भदाै ३ । नेपाली फूटबलका चर्चित खेलाडी विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिएका छन् ।
उनले आइतबार भद्रकाली मन्दिरमा प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् । साधारण पोशाकमा विवाहको मण्डपमा देखिएका २५ वर्षीय विमलले विवाहको तस्बिरहरू सामाजिक सञ्जाल फेसबुक मार्फत सेयर गरेका छन् ।
‘मेरो विगत, वर्तमान र भविष्य,’ फेसबुकमा उनले लेखेका छन्, ‘अनि, उनी मेरो अर्धाङ्गीनीभन्दा अरु कोही हुन सक्दैन ।’
विमलले पछिल्लो पटक एएफसी कप छनोटको भुटानी क्लब पारोविरुद्धको खेलमा गोल गरेका थिए । मच्छिन्द्र क्लब र पारोबीचको उक्त खेल दशरथ रङ्गशालामा भएको थियो ।
