प्राविधिक र संस्कृत शिक्षा नहुनु मुलुकको दुर्भाग्य

रिपोर्ट नेपाल | 2020 Jun 13 | 02:04 pm 2730

  • बसन्तबहादुर भुजेल

भारतमा अंग्रेजहरुले लामो समय शासन गरे । अंग्रेज भन्दा अघि झन लामो समय भारतमा मुस्लिमहरुले शासन गरेका थिए । मुस्लिमहरुको भन्दा अंग्रेजहरुको शासन व्यवस्था परिस्कृत थियो । अंग्रेजहरुले भौतिक विकासका पूर्वाधारहरुको निर्माणमा ठूलो लगानी गरे । शिक्षामा पनि जोड दिए, तर मुस्लिम शासकहरुले भने आफ्नै लागि दरबार बनाउन र शान सौकतमा जोड दिएका थिए । भारतका पूराना दरबार, तथा इमारतहरु मुस्लिम शासकका विरासत हुन् भने । रेल तथा सडक सन्जाल , अस्पताल तथा विश्वविद्यालयहरु अंग्रेज शासकका विरासत हुन् ।
भारतमा अंग्रेजले शासन गर्दै गर्दा नेपालमा शिक्षाको विकास भइसकेको थिएन । केहीले परम्परागत तथा गुरुकुल शिक्षा लिन्थे । त्यो पनि व्राम्हण परिवारका पुरुषमा मात्रै सीमित थियो । जब नेपाली युवा अंग्रेजको सेनामा भर्ती हुन थाले त्यसपछि पहाडका दूरदराजका गाउँहरुमा पनि सामान्य लेख पढ तथा हिसाव सिकाउन स्कुलहरु खुले । आफ्नो सेनाका लागि पुर्वाधार तयार गर्न अंग्रेजको सहयोगमा यी स्कुलहरु खुलेका थिए ।

भारतमा अंग्रेजहरु सेवाको भावनाले भन्दा पनि शासन गर्ने र धन सम्पत्ति बटुल्ने अभिप्रायले आएका हुन् भन्ने कुरामा कुनै संका छैन । तर यसका लागि पनि जनशक्ति चाहियो । अझ अंग्रेजी भाषा सामान्य रुपमा भए पनि बुझ्ने जनशक्ति चाहियो । त्यस कारण पनि अंग्रेजहरुले भारतमा शिक्षामा जोड दिए । अंग्रेजले भारतमा विस्तार गरेको शिक्षाको एक मात्रै उद्देश्य थियो –‘ आफ्ना लागि कारिन्दा तयार गर्ने ।’ आफ्नो उद्देश्यमा अंग्रेज सफल पनि भए । त्यही सिको नेपालमा राणाहरुले गरे । यो स्वभाविक पनि थियो । तर नेपालमा २००७ सालको परिवर्तन पछिका सरकारहरुले पनि त्यही कारिन्दा बनाउने शिक्षालाई नै निरन्तरता दिए । जसले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ । सीप तथा सिर्जना अभिवृद्धी होइन कि, कितावमा लेखेको तथा लगाए अराएको काम मात्रै गर्न सक्ने उद्देश्य बोकेको शिक्षा पद्धतीलाई निरन्तरता दिएका कारण नै हामीले प्रगति गर्न नसकेका हौं । छिमेकी मुलुक भारत पनि यहीँनिर चुकेको हो ।

रोजगारी सिर्जना गर्ने होइन कि, विद्यमान रोजगारीकै लागि प्रतिस्पर्धा गर्ने उद्देश्यको शिक्षा प्रणाली भएकै कारण नेपालमा औद्योगिकीकरण हुन सकेन । कृषि क्षेत्र पनि परम्परागत तथा निर्वाहमुखी भन्दा माथि उक्लन सकेन ।  शैक्षिक संस्था भनेको बाहुवलको प्रयोग गर्ने स्थान होइन । ज्ञानको पवित्र मन्दीर हो, तर २००७ सालको क्रान्तिको सेरोफेरोदेखि नै नेपालका शैक्षिकसंस्थाहरु राजनीति तथा बाहुवलका अखडा बने । परिवर्तनका नाममा विद्यार्थीहरुको दूरुपयोग भयो । राणा शासन ढाल्ने उद्देश्यका लागि विद्यार्थी एक जुट हुनु, उनीहरुको सहयोग रहनु स्वभाविकै थियो । अझ यो स्तुत्य काम थियो । तर राणा शासन ढलेपछि राजनीतिक दल तथा शक्ति केन्द्रहरुले विद्यार्थीलाई आफ्नो राजनीतिका औजार बनाए । स्कुल तथा क्याम्पसहरु राजनीतिका अखडा बने । दलहरुले मात्रै होइन राजाहरुले समेत विद्यार्थीको दूरुपयोग गरे ।

पञ्चायतकालको सुरुदेखि नै तत्कालिन राजा महेन्द्रले राजनीतिक दलका गतिविधिलाई निस्तेज गर्ने नाममा विद्यार्थी प्रयोग गरे । दरवारले स्वतन्त्र विद्यार्थी मण्डल नामको संस्था नै जन्मायो । जसलाई सेना, प्रहरी लगाएर दमन गर्दा अन्तर्राष्ट्रिय क्षेत्रले औंला ठड्याउँछ उनीहरुलाई दमन गर्नका लागि स्वतन्त्र विद्यार्थी मण्डल खडा गरेको थियो दरबारले । विपी कोइरला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी लगायतका कयौं नेताहरुलाई राजाले स्वतन्त्र विद्यार्थी मण्डल प्रयोग गरेर घाइते बनाए । मण्डलेहरुको आक्रमणका कारण जिव्रो काटिएकोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको त अहिले पनि बोली प्रष्ट छैन ।

राजाको यो देखासिखी गर्दै दलहरुले पनि अखिल र नेविसंघ जस्ता संगठनहरु निर्माण गरे । यी संगठनहरुलाई भौतिक आक्रमणमै उतार्न थाले । राजाहरुले गरेको खराव कामको देखासिकी दलहरुले गरेकै कारण अहिले शिक्षा क्षेत्र तहस नहस भएको हो । शिक्षक तथा प्राध्यापकहरुले नै कुनै पार्टीको झोला बोक्ने अर्थात झोले कार्यकर्ता बन्ने शिक्षा दिन्छन् भने त्यसको परिणाम कस्तो होला ? समान्य सीप र समान्य ज्ञान समेत नभएको खाली भाषण मात्रै गर्न जान्ने जनशक्ति उत्पादन भएकै कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको हो । हामी पछि पर्नुको मुल कारण भनेकै राजनीतिक अस्थिरता हो ।

कृषि प्रधान देश हो नेपाल तर उच्च शिक्षा लिएका अधिकांश जनशक्तिलाई धानको उत्पादन कसरी हुन्छ थाहा छैन । नेपाल पर्यटनको भरपुर संभावना भएको मुलुक हो तर उच्च शिक्षा लिएको अधिकांश जनशक्तिलाई परम्परागत कला संस्कृतिको ज्ञान छैन । नेपाल जडीबुटीको प्रचुर संभावना भएको मुलुक हो तर स्नातकोत्तर उत्रिर्ण गरेको जनशक्तिलाई हाम्रा बनस्पतिहरुको नाम थाहा छैन । बाबु, बाजेबाट सिक्न सकिने यो ज्ञान समेत ग्रहण गर्न सकेन नयाँ पुस्ताले । यसैगरी हाम्रो जस्तो पहाडी मुलुकमा भौतिक पूर्वाधार निर्माणका लागि गर्नु पर्ने काम भनेको जलविद्युत उत्पादन , सुरुङ सडक निर्माण तथा फलाम, तामा, शिशा तथा युरेनियम खानीहरुको उत्खनन् हो । तर हाम्रो विश्वविद्यालयमा अहिलेसम्म भुगर्व संवन्धि पढाइ नै हुँदैन ।

खाडी मुलुकबाट ल्याइएको पेट्रोल भन्दा यहीँ उत्पादन भएको विजुली महगो छ । यती सम्मको अवस्थामा हामी छौं कि विजुलीको लागि चाहिने बल्व त विदेशबाट ल्याउँछौं नै , बल्व जलेपछि फेर्नु पर्छ । फेर्नका लागि पनि हामीलाई विदेशी जनशक्ति नै आवश्यक पर्छ । अभिभावकहरु पनि चेतनशील भएनन् । अंग्रेजी भाषा जान्नुलाई मात्रै शिक्षा भन्ने ठम्याई अधिकांश अभिभावकको छ । यो मानसिकता अंग्रेजकालिन भारतका अभिभावकहरुमा थियो । यस्तो शिक्षा दिएर मुलक कहिले उँभो लाग्ला ? शिक्षामा खरबौं लगानी छ तर वालुवामा पानी हाले जस्तो भइरहेको छ ।

मुलतः व्यवहार मुलुक शिक्षा हुनु पर्यो । बेलायतमा उच्च शिक्षा लिएर फर्केका तत्कालिन राजा वीरेन्द्रले केहीहदसम्म यसका लागि प्रयास गरेको पनि देखिन्छ । उनले माध्यामिक तहमै सीप, तथा प्रविधिमुलक शिक्षा दिने भन्दै नयाँ शिक्षा योजना लागु गराए । तर यही मौकामा केही स्वार्थी तत्वहरुले चलखेल गरे । केही हदसम्म भए पनि एसएलसी तह देखि नै जुनियर प्राविधिकहरु उत्पादन भए तर नयाँ शिक्षाका नाममा परम्परागत गुरुकुल शिक्षा पद्धतीको प्रमाणपत्रलाई मान्यता नदिने निर्णय गरियो । जसका कारण संस्कृतिक पाठशालाहरु बन्द भए । हाम्रा बेद तथा आयुर्वेदीय ज्ञानहरु नयाँ पुस्तामा हस्तान्तरण हुन सकेनन् ।

तत्कालिन राजा वीरेन्द्र माथि ठूलो धोका भयो । हाम्रो गुरुकुल शिक्षा पद्धति कति सम्म प्रभावकारी थियो ? भन्ने कुराको ज्वलन्त उदाहरणका रुपमा प्राध्यापक दिनेशराज पन्तलाई लिन सकिन्छ । उनले औपचारिक (आधुनिक) शिक्षा कक्षा २ सम्मको मात्रै लिएका हुन् । बाँकी सबै आफ्नै पिताजी नयराज पन्तको गुरुकुलमा लिएका हुन् । अब तुलना गरौं आधुनिक शिक्षा मार्फत इतिहास विषयमा विद्यावारिधि गरेका कुनै माइकालाल छन् ? दिनेशराज पन्तका अघि सिधा नजरले हेर्न सक्ने ? । यस्तै क्वालिटी हाम्रा गुरुकुलहरुले उत्पादन गरेका थिए । तर राजा वीरेन्द्रको सोझो पनको फाइदा तत्कालिन प्रधानमन्त्री डा. तुल्सी गिरी मार्फत पश्चिमाहरुले उठाए ।

(भुजेल गाेर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.