तनहुँ, मंसिर २८ः गत शनिबार साँझ घिरिङ ४ सिप्लुङका बलसिं राना नेपाल आइपुगे। साँझ दमौली आइपुगेका उनी यतै बास बस्ने निधो गरे।
व्यास-२ वागबजारस्थित एक रेष्टुरेन्टमा खाजा खान पसेका उनले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको गुनासोपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो।
त्यसक्रममा आफूमाथि ढुंगा प्रहारसमेत गरेको प्रहरीको दाबी छ। एक रात नियन्त्रणमा रहे पछि भोलिपल्ट प्रहरीले प्रशासन कार्यालय पुर्याएर कागज गरेपछि उनलाई छाडेको बतायो। तर उनी घटनाको भोलिपल्टबाट बेपत्ता भए। उनै रानाको शव शनिबार सेतीमादी नदीमा भेटिएको छ। नदीको बीच भागमा अड्किएको उनको शव नेपाली सेनाको कालीभञ्जन गणका सैनिकले डोरीले तानेर झिकेको छ।
आफन्तले प्रहरीले परिवारलाई नबुझाइकनै उनी बेपत्ता भएकाले यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने माग गरेका छन्। ‘हामीलाई भोलिपल्ट भेट्न जाँदा गैसक्यो भनियो,’ उनका दाइ बमबहादुरले भने,‘पछि साँझ रिहा गरेको भनियो। परिवारको जिम्मा नै नलगाई कसरी रिहा हुन्छ ? अन्नपूर्ण पोस्ट दैनिकबाट