कञ्चनपुर, भदौ २६: कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिए। उनले राजीनामा दिदैं भने, ‘मेरो ज्यानमाथि खतरा बढ्यो, सुरक्षाका लागि सम्बन्धित निकालयलार्इ अपिल गर्दछु।’ उनले यसो भन्दै राजीनामा दिएपछि घटना थप रहस्यमय बन्दै गएको छ। समितिमा प्रतिनिधित्व गर्ने पाँचजनामध्ये केसी मात्रै न्याय सेवाका अधिकारी हुन्।
यसअघि नै छानविन समितिले घटनामा प्रहरीले चरम लापरवाही र गम्भीर त्रुटी भएको बताइसकेको छ। अपराधी जोगाउन अनेक प्रपञ्च रचिदै भएकोले तत्काल अपराधी पत्ता नलाए आन्दोलनमा जाने स्थानीयले चेतावनी दिइरहेका छन्।
अपराधी पत्ता लगाउन प्रहरीले डिएनए परीक्षणको रिपोर्ट पर्खिरहेको छ। नमुना प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । तर, प्रहरीले कसरी नमुना संकलन ग-यो भन्ने विषयमा केसीले छानबिन समितिमा आशंका व्यक्त गरेका थिए। हुन पनि शव भेटिएकै दिन खिचिएको भिडियोले डिएनए नमुना संकलनमा प्रश्न उठाएको छ। जब निर्मलाको शव उखुबारीमा भेटियो, स्थानीय सर्वसाधारणकै बीचमा प्रहरीले मुचुल्का उठायो।
शवको छेउमै भएको सुरुवाल उठाएर एक महिला प्रहरीले पानीमा चोबलिन् र निर्मलाको शरीर ढाकिदिइन्। यसो गर्न उनलाई छेउमै उभिएका प्रहरी अधिकृतले आदेश दिएका थिए। उनीहरूले बालिकाको नग्न शरीर ढाकिदिने मनसायले यसो गरेका हुन सक्छ। तर, सुरुवाल पानीमा पखाल्दा अपराधीको डिएनए पनि प्रभावित भएको हुन सक्छ। यति ठूलो अपराधको अनुसन्धानमा यस्ता कडी महत्वपूर्ण हुन्छन् भन्ने सामान्य चेतना पनि प्रहरीलाई नहुनु आश्चर्यजनक हो। यो भावनामा भएको थियो अथवा योजनाबद्ध भन्नेमा प्रश्न छ।
त्यसमाथि प्रहरीको नियतमाथि नै शंका छ। किनकि प्रहरीले दीपक नेगी र जीवन घर्तीमगरलाई मात्र होइन, स्थानीय किशोरी हेमन्ती भट्टलाई पनि यातना दिएर दोषी साबित गर्न खोजेको थियो। दिलीपसिंह विष्टलाई पनि प्रहरीले जानाजान फसाउन खोजेको आरोप लागिरहेको छ। त्यसैले वास्तविक दोषीलाई उम्काउन डिएनएको नमुनामा नै गडबड भएको हुन सक्ने मत केसीको छ।
छानबिन समितिका सदस्य केसीले डिएनएको नमुना र शंकास्पद सबैको कल डिटेल रिपोर्ट पनि हेर्न खोजेका थिए । समितिले छानबिन मात्र गर्न सक्ने, तर प्रहरीले जस्तै अनुसन्धान गर्न नसक्ने भन्दै समितिका सदस्य पछि हटेका थिए।
तर, प्रहरीको अनुसन्धानमाथि शंका उत्पन्न भएकै कारण छानबिन समिति गठन गरिएको र प्रहरी अनुसन्धान सही छ कि छैन भन्ने स्पष्ट हुन आफूहरूले पनि अनुसन्धान गर्नुपर्ने उनको दाबी थियो। ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयबाट गठित यस्तै समितिले अनुसन्धान गरेर प्रहरीलाई समेत पक्राउ गरी अभियोजन दर्ता गरेको थियो । तर, यो समितिलाई भने खुम्च्याउन खोजेको भन्दै उनले राजीनामा दिएका हुन् ।
समितिबाट राजीनामा दिएपछि वीरेन्द्र केसी कञ्चनपुर घटनाको छानबिनबाट स्वतः अलग भएका छन्। तर, अहिलेसम्म संकलन भएका तथ्य तथा बयानलाई प्रतिवेदनमा कसरी प्रस्तुत गरिन्छ भन्ने विषयलाई अवलोकन गर्ने उनको मनस्थिति छ। तथ्यहरू तोडमोड भएमा फरक मत राख्न बाध्य हुने जानकारी उनले सरकारका उच्च अधिकारीहरूलाई पनि गराइसकेका छन्।