प्रविधिमैत्री बन्दै कटवाल प्रथा

| 2022 Mar 22 | 07:25 am 1589

प्युठान, चैत ८ः प्युठानका गाउँघरमा सूचना प्रवाहको परम्परागत माध्यम बन्दै आएको कटवाल प्रथा सञ्चारको विकाससँगै आधुनिकीकरण हुन थालेको छ । गाउँको सिरान तथा डाँडामा पुगेर हाँक हाली सूचना दिने कटवाल पेसा बदलिँदो समय र सूचना प्रविधिमा ग्रामीण पहुँच बढेसँगै व्यवस्थित हुन लागेको हो ।

जिल्लाको गौमुखी गाउँपालिकाले कटवालको काम गर्दै आएका कटवाललाई सिमसहितको मोबाइल सेट उपलब्ध गराएको छ । कटवाल प्रथालाई प्रविधिमैत्री बनाउन पालिकाभित्रका ३२ जना कटवाललाई सिमसहितको मोबाइल सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णु गिरीले जानकारी दिए ।

गिरीले भने, “सूचना प्रवाहमा छिटो र सजिलो होस् भनेर मोबाइल दिएका हौँ ।” पुस्तौँदेखि चल्दै आएको कटवाल परम्परालाई निरन्तरता दिएका कटवालहरूको सम्मानका लागि मोबाइल प्रदान गरिएको गिरीको भनाइ छ । “अहिले मोबाइल र सिम दियौँ, आवश्यकताअनुसार खर्च पनि पालिकाबाट उपलब्ध गराउने व्यवस्था गर्छौं”, अध्यक्ष गिरीले भने ।

कटवाललाई मोबाइल वितरणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा दुई लाख रुपियाँ बजेट छुट्याएको थियो । विकास निर्माणका कार्यक्रमदेखि व्यक्तिगत समस्याबारे गाउँलेले बिहानै कटवाललाई सुनाउँछन् । कटवालले सार्वजनिक सरोकारका विषयलाई गाउँस्तरमा सार्वजनिक गर्ने काम गर्छन् ।

गौमुखी गाउँपालिका–२, डाँडागाउँका कटवाल थम्मन सुनारले पालिकाले आफूलाई मोबाइल दिएर सम्झेकोमा खुसी व्यक्त गरे । उनले भने, “पालिकाले सम्झेकोमा खुसी छु, छिटो खबर दिनु परे मोबाइलबाटै कल अथवा म्यासेजबाट खबर गर्दै आएको छु ।” उहाँले मोबाइलको खर्च धान्न मुस्किल भएको सुनाउँदै भने, “फोन खर्च धान्नै गाह्रो छ, पालिकाले दिए राम्रो हुन्थ्यो ।”

आर्थिक स्थिति कमजोर रहेका सुनारले सूचना प्रवाह गरेबापत ८० घरधुरीबाट वार्षिक रूपमा प्रतिघर एक पाथी अन्न उठाउँदै आएका छन् । उनले भने, “पहिले बुवाले यही पेसाबाट परिवार पाल्नुभएको थियो, बुवाको मृत्युपछि यो काम मैले गर्दै आएको छु । गुजारा चले पनि, नचले पनि पेसा त गर्नै पर्यो ।” प्युठान जिल्लाका झिमरुक, गौमुखीलगायतका गाउँमा अझै पनि परम्परागत कटवाल प्रथा कायमै छ । कटवाल काम गर्ने धेरैजसो दलित समुदायका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.