प्रविधि दिवस मनाइँदै

रिपोर्ट नेपाल | 2023 Apr 30 | 06:51 am 1805

काठमाडौँ, वैशाख १७ः नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ वैशाख १९ गते मनाउने भएको छ। यस वर्ष ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ नारासहित सरकारले ‘आईसीटी डे’ वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने सञ्चार तथा प्रविधि मन्त्रालयको साइबर सुरक्षा शाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको वैशाख १० गते बसेको बैठकले यस वर्ष मूल नारा पारित गर्दै भव्य रूपमा दिवस मनाउने निर्णय गरेको साइबर सुरक्षा शाखाका कम्प्युटर इन्जिनियर सरोज पोखरेलले जानकारी दिए।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन गठन भएको प्रचार उपसमितिको वैशाख ४ गते बसेको बैठकले सबै मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकाय, प्रदेश तथा स्थानीय तहको वेबसाइटको होमपेजमा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस भव्यतासाथ मनाऔँ’ भन्ने सन्देश वैशाख १७ देखि १९ गतेसम्म प्रवाह गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। प्रचार उपसमितिले सबैलाई सञ्चार प्रविधि दिवसका दिन सामाजिक सञ्जालमा ह्यास ट्याग (#NationalICTDAY2023, #NepaliCTDAY2023) प्रयोग गर्न आग्रह गरेको छ।

दूरसञ्चार सेवाप्रदायकमार्फत तीन दिनसम्म वैशाख १७, १८ र १९ गते रिङब्याक टोनका रूपमा ‘आईसीटी डे २०२३ भव्य रूपमा मनाऔँ’ भन्ने सन्देशका साथै वैशाख १९ गते बिहान मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत पठाउने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्ने प्रचार उपसमितिले जनाएको छ।

सालिन्दा मे २ मा नेपालमा सरकार र निजी क्षेत्रबाट सञ्चार तथा सूचना प्रविधि दिवस ‘आईसीटी डे’ मनाइँदै आइएको छ। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.