प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

| 2018 Jun 28 | 03:34 pm 3291

काठमाडौँ, १४ असार : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा उत्पादनको क्षेत्रमा नेपालमा लगानी बढाउने बारे भएका सम्झौताहरुले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार गरेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले यही असार ५ देखि १० गतेसम्म चीन भ्रमणका क्रममा महत्वपूर्ण सहमति, सम्झौताहरु र उच्चस्तरीय राजनीतिक भेटघाट गर्नु भएको उल्लेख गर्दै उहाँले चीन भ्रमणका क्रममा स्थल तथा हवाई सञ्जाल विस्तार, उत्तर दक्षिण जोड्ने सम्पर्क सञ्जाल निर्माण, कोशी, कर्णाली, गण्डकी आर्थिक करिडोर निर्माण गर्ने विषयमा महत्वपूर्ण सहमति भएको बताए ।

भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप आयाम थपिएको र तेल र ग्यासको सम्भाव्य अध्ययन गर्ने, निर्यात योग्य नेपाली समान निर्यात गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, सरकारी छात्रवृत्तिलाई बढाउनका लागि दुवै देश सहमत भएको मन्त्री ज्ञवालीले जानकारी गराए ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लिखछ्याङलाई नेपाल भ्रमणका लागि निम्ता दिएको र समय मिलाएर छिट्टै उहाँहरुले नेपाल भ्रमण गर्ने विश्वास गरिएको मन्त्री ज्ञवालीले उल्लेख गरे ।

चीन भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले चीनले नेपाललाई आर्थिक समृद्धिमा सहयोग पु¥याउने तथा ‘समृद्ध नेपाल र सुख नेपाली’को अभियान पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि चिनियाँ पक्षले गरेको जानकारी दिए ।

उनेले प्रधानमन्त्री ओलीको भ्रमणका अवसरमा १४ बुँदे संयुक्त विज्ञप्ति जारी भएको जानकारी दिँदै १३ सरकारी स्तरमा र नौ वटा निजीस्तरमा गरी २२ वटा महत्वपूर्ण सहमति तथा सम्झौता भएको पनि स्पष्ट पारे । प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा जानकारी गराएपछि राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.