काठमाडौं, वैशाख २७: राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनलाई गत २० गते नीति तथा कार्यक्रमको विषयमा उठेको प्रश्न प्रति उत्तर दिने क्रममा प्रधानमन्त्री केपी ओलीद्वारा व्यक्त अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उक्त गैह्र संसदीय अभिव्यक्ति संसदको रेकर्डबाट हटाइने भएको छ ।
प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल रेकर्डबाट हटाउन आवाज उठाउँदै नाराबाजी गर्दा समेत रेकर्डबाट नहटाएपछि सभामुख कृष्णबहादुर महराको स्वतन्त्रता प्रति प्रश्न उठाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्नको उत्तर दिने क्रममा निम्छरो भन्ने शब्दले प्रतिपक्षलाई प्रहार गरेका थिए ।
निम्छरोको अर्थ धनहिन, विहिन, बुद्धिहिन र कमजोर पात्र भएको भाषाविदहरुले अर्थाएका छन् । प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिले सम्मनीत सदन भित्र गैह्र संसदीय भाषा प्रयोग गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिरोध जनाएको थियो ।
प्रधानमन्त्री ओलीद्वारा व्यक्त अभिव्यक्ति गैह्र संसदीय भएको भन्दै त्यस्ता शब्द रेकर्डबाट हटाउन सभामुख महराले शुक्रबार संसद बैठकमा सचिवलाई निर्देशन दिएका छन् । सभामुख महराले आजै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै प्रधानमन्त्री केपी ओलीको भ्रमण अविधिभर उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल कार्यवाहक प्रधानमन्त्री भएको जनाइएको थियो ।