प्रधानमन्त्री देउवासँग चितवनको टोलीद्वारा भेटवार्ता

रिपोर्ट नेपाल | 2022 Jul 12 | 03:10 pm 1077

काठमाडौं, असार २८ः प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले काठमाडौंमा भेटवार्ता गरेका छन् । जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।

भेटमा सहभागी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण, माडी क्षेत्रको भूमिगत विद्युतीकरण रोकिएको विषय, माडी जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो ।

यसअघि चितवनको टोलीले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई भेट गरी यहाँको अवस्थाको बारेमा जानकारी गराएको थियो ।

प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री देउवाले दाहाल र महानगर प्रमुख दाहालको रोहवरमा मुख्य सचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, निजी सचिवलगायत सरोकारवालालाई बोलाएर छलफल गरी तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् ।

महानगर प्रमुख दाहालका अनुसार प्रधानमन्त्री देउवाले विमानस्थल विस्तार, क्रिकेट रङ्गशाला, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य र जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । उनले भने, “प्रधानमन्त्रीले निकै सकारात्मक भएर तत्काल कार्यान्वयनका लागि निर्देशन दिनुभयो ।”

महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएकाले जिल्लावासीको मागको सुनुवाइ हुने विश्वास व्यक्त गरिन् । महानगरपालिकाले विमानस्थल विस्तारका लागि निकै पहिलेदेखि पहल गर्दै आएको छ । भेटमा राजनीतिक दलका प्रतिनिधि, राष्ट्रियसभाका सदस्य, भरतपुर र माडीका पूर्व र वर्तमान जनप्रतिनिधिलगायत सरोकारवाला सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.