प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

रिपोर्ट नेपाल | 2021 Jul 18 | 10:18 pm 3293

काठमाडौं, साउन ३: कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन् । असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्‍मा विश्वासको मत लिएका हुन् ।

सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमाले माधव नेपाल समूहका केही सांसदको साथ पाएका देउवाको पक्षमा १६५ मत खसेको छ । देउवाको विपक्षमा ८३ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिएका हुन्। देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भए पनि एमाले अध्यक्ष केपी ओली समूहका केही सांसदले देउवालाई विश्वासको मत दिएका हुन् ।
आइतबार संसदमा भएको मत विभाजनमा प्रेम आले, किसान श्रेष्ठलगायत सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कायम छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि  १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.