प्रधानमन्त्री देउवा वर्ल्ड लिडर समिटमा भाग लिन लण्डनमा

रिपोर्ट नेपाल | 2021 Oct 30 | 07:36 am 1893

लण्डन,कात्तिक १३ः प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्य(बेलायत) को ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन आइपुगेका छन् । शुक्रबार स्थानीय समय ८:२० बजे उनी लण्डन आइपुगेका हुन् ।

सो क्रममा प्रधानमन्त्री देउवालाई लण्डनस्थित नेपाली दूतावासकी कार्यबाहक राजदूत श्रीमती रोशन खनाल, बेलायतको संसद हाउस अफ कमन्सका सदस्य तथा नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष बीरेन्द्र शर्मालगायत दूतावासका उच्च अधिकारीले लण्डनस्थित हिथ्रो बिमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवाले शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन् । यसैगरी प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने छन् । अक्टोबर ३१ मा प्रधानमन्त्री देउवा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद् सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग पनि भेटघाट गर्ने छन् ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ मा ग्लास्गोमा हुने कोप–२६ को औपचारिक उदघटन समारोहमा सहभागी हुन लण्डनबाट अक्टोबर ३१ मा त्यसतर्फ प्रस्थान गर्नेछन् । उदघाटनको साँझ प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलनमा सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने हुने बताइएको छ ।

यसैगरी नोभेम्बर २ मा प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले नोभेम्बर ३ मा स्कटल्याडको एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको भ्रमण गरी नेपाली बगैँचामा बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू छन् । प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ मा स्वदेशका लागि प्रस्थान गर्नेछन् । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.