प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर

रिपोर्ट नेपाल | 2019 Nov 27 | 07:42 am 1362

काठमाडौं, मंसिर ११: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएकाले खतरामुक्त भने भइनसकेको चिकित्सकहरूले जानकारी दिए ।

मंगलबार बिहान उनको एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा लगी शल्यक्रिया गरिएको थियो।

उनलाई असह्यरूपमा पेट दुखेपछि मंगलबार बिहान चिकित्सकको सल्लाहअनुसार अस्पताल लगी परीक्षण गर्दा एपेन्डिसाइटिस फुटेर शरीरमा संक्रमण फैलिएको पत्ता लागेको हो।

समस्या पहिचानलगत्तै चिकित्सकको टोलीले प्रम ओलीको शल्यक्रियासहितको अन्य उपचार प्रक्रिया अगाडि बढाएका हुन्। शल्यक्रियापछि उनको स्वास्थ्य स्थिर रहे पनि खतरामुक्त भने भइनसकेको स्रोत बताउँछ।

डा रमेशसिंह भण्डारी, डा पलेस्वाँ लाखे जोशीलगायतको टोलीले ४५ मिनेटको अथक् प्रयासका बाबजुद्ध शल्यक्रिया सम्पन्न गरेका थिए। तर पनि प्रम ओलीको एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिइसकेकाले थप गम्भीर अवस्था निम्त्याएको छ।

एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिनु सामान्य व्यक्तिका लागि त खतरनाक हो भने प्रम त १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरी अहिले पुनः डायलासिस गरिरहेको व्यक्ति भएकाले थप खतराको विषय भएको चिकित्सकले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.