प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा समस्या

रिपोर्ट नेपाल | 2019 Nov 03 | 07:55 am 1905

काठमाडौं, कात्तिक १७: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बाहिर हल्ला भएजस्तो गम्भीर नभएको तर मिर्गौलामा समस्या आएको बताएका छन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

बैठकमा सहभागी सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले सबै रिपोर्ट हेरेपछि मात्रै आफ्नो स्वास्थ्य कस्तो छ भनेर यकिन रुपमा भन्न सकिने बताए। बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । बाहिर हल्ला भएजस्तो गम्भीर नभएको, अहिले डायलासिस गर्नुपर्ने र सबै रिपोर्ट आएपछि मात्र के गर्ने भन्नेबारे छलफल हुने बताउनु भयो, ती सदस्यले भने।

बैठकमा ग्रान्डी अस्पतालमा दुईपटक डायलासिस गरिएको र फेरि आइतबार पनि गर्नुपर्ने जानकारी गराइएको थियो। रिपोर्ट हेरेपछि अर्को मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भए पनि चिकित्सकले निर्णय गर्ने प्रधानमन्त्रीको संकेत थियो तर उनले प्रत्यारोपण गर्ने÷नगर्ने विषयमा केही बताउनु भएन’, ती सदस्यले भने। अस्वस्थ भएपछि बुधबार ग्रान्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओली बिहीबार साँझ डिस्चार्ज भएका थिए।

सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको बताए। ‘प्रधानमन्त्रीज्यूले स्वास्थ्य जाँचका सबै रिपोर्ट आइनसकेकाले आएपछि थाहा हुने जानकारी दिनुभयो’, श्रेष्ठले भने।

उनले बाहिर हल्ला भएजस्तो प्रधानमन्त्री सिकिस्त बिरामी नभएको पनि जानकारी दिए। जाँचका सबै रिपोर्ट आएपछि उपचारका अन्य प्रक्रियामा अगाडि बढ्नुपर्छ, प्रधानमन्त्रीज्यूको पनि यही कुरा छ। अहिले उहाँ स्वस्थ्य नै हुनुहुन्छ’, श्रेष्ठले भने।

बैठकमा प्रधानमन्त्रीले ओलीले आफ्नो स्वास्थ्यमा केही समस्या आएको, शरीरमा पानी जम्मा हुने समस्या देखिएको, नियमित डायलासिस गर्नुपर्ने हो कि भन्ने चिकित्सकको भनाइ छ तर सबै रिपोर्ट आएको छैन, आएपछि थाहा हुन्छ भनेका थिए। स्रोतका अनुसार डायलासिसको विकल्पमा पुनः मिर्गौला प्रत्यारोपण गर्ने कि भन्ने विषयमा पनि चिकित्सकको रायमा भर पर्ने उनले बताएका थिए। नागरिक न्युज दैनिबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.