काठमाडौ, साउन २२ : भारतका लागि प्रस्तावित राजदूत नीलकण्ठ उप्रेतीलाई सिफारिस गर्दा सल्लाह नगरेको भन्दै शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि जनाएका छन् । उप्रेतीको नामलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, नारायणकाजी श्रेष्ठलगायतले आपत्ति जनाएका हुन् ।
भारत जस्तो मुलुकको राजदूत सिफारिस गर्दा सल्लाह नगरिएको भन्दै शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टि पोखेका छन्। उनीहरूले भारतका लागि राजदूत बनाउन उप्रेती योग्य नभएको राय अध्यक्ष ओलीलाई दिएको स्रोतले जनाएको छ।

शीर्ष नेताहरूले नै आपत्ति जनाएपछि मन्त्रिपरिषद्ले निर्णय गरेको तीन साता बितिसक्दा पनि उप्रेतीको नाम संसदीय सुनुवाइका लागि संसद् पठाइएको छैन ।
मन्त्रिपरिषद्को असार ३२ को बैठकले भारतका लागि उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। राजदूत सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। तर उप्रेतीको नाम सुनुवाइका लागि अघि बढ्न सकेको छैन।