काठमाडौं, भदाै ३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रियसभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचहजार जरिवाना गर्नुपर्ने पर्ने माग गरेका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली हिजो प्रदेश २ को प्रदेशसभामा संविधानविपरित अनधिकृत रुपमा प्रवेश गरी सम्बोधन गरे आरोप लगाउँदै उनले प्रदेशसभा सदस्यबाहेक अरु व्यक्ति प्रदेशसभामा अनधिकृत रुपमा प्रवेश गरे ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था संविधानमै भएकाले प्रधानमन्त्री ओलीलाई संविधानको धारा १८४ बमोजिम उक्त जरिवाना गर्नुपर्ने माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रदेशसभामा अनधिकृत रुपमा प्रवेशको साथै सभामा अंगरक्षकलाई पनि बर्दी लगाएर प्रवेश गराएको आरोप लगाउँदै उनले मर्यादापालक हुँदाहुँदै अंगरक्षकलाई बर्दीमा उभ्याउनु गलत भएको उनलेको टिप्पणी थियो ।
उनले भने ,‘प्रधानमन्त्रीको ओलीको यो कदम प्रदेशसभाको स्वायत्तता, अक्षुणता र संसदीय अभ्यास विपरित हो । ओलीजीले गम्भिर गल्ती गर्नुभयो ।’ प्रधानमन्त्री ओलीको पछिल्लो कदम र हिजो २ नम्बर प्रदेशमा गरेको सम्बोधनले संघीय संरचनालाई कमजोर बनाउने उनको आरोप छ ।
उनले भने, ‘देशको प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुपर्छ । तर, यसको लागि संविधानमै व्यवस्था गर्नुपर्छ । नियमावालीमा आवश्यक व्यवस्था गर्नुपर्छ । अनधिकृत रुपमा प्रदेश सभामा यसका सदस्यबाहेक अरुले छिर्न र बोल्न पाउँदैन् ।’