प्रधानमन्त्री ओली र तिब्बती नेता छी चालाबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2018 Jun 23 | 04:48 pm 3567

बेइजिङ, ९ असार : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले चीनको तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छी चालासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र तिब्बती नेता छीबीचमा शनिबार मध्यान्ह सौहाद्र्धपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको हो ।

नेपाल र चीनबीच भएका सहमति र सम्झौताको कार्यान्वयनमा चीनको तिब्बत जनससरकार र तिब्बत स्वायत्त प्रदेशको विशेष भूमिका रहने र खास गरेर सीमा क्षेत्रमा आपसी आदानप्रदानलाई घनिष्ट बनाउनका लागि तिब्बत जनसरकारसाग नेपालले मिलेर काम गर्ने प्रधानमन्त्री ओलीले औँल्याए ।

कृषि, पर्यटन, स्वास्थ्य, लगायतका क्षेत्रमा सम्पर्क बढाउनका लागि तिब्बत स्वायत्त प्रदेशले विशेष भूमिका निर्वाह गर्ने भएकाले यस्ता विषयमा सहयोग आदानप्रदान गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

नेपालले दृढतापूर्वक एक चीनको नीतिमा समर्थन र सहयोग गरेकोमा नेता छी चालाले नेपालको उच्च प्रशंसा गरे । उनले हाल तिब्बत जनसरकारको तर्फबाट नेपाललाई प्रदान गरिरहेको सहयोगको बारेमा पनि प्रकाश पारेका थिए । चीनको केन्द्र सरकारसँग नेपालले गरेका सहमति र सम्झौताहरुको कार्यान्वयनमा आफ्नो प्रान्तले सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने बताउँदै उनले भने ‘हामी सहयोगका नयाँ क्षेत्रहरु पनि पहिल्याउँछौँ ।’

चीन र नेपालबीचमा हुने साझेदारीमा थुप्रै क्षेत्रहरु रहेको र ती नयाँ क्षेत्रको अध्ययन गर्न आफूले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिइसकेको नेता छीले उल्लेख गरे । तातोपानी नाका खोल्ने बारेमा केन्द्र सरकारसँगै समझदारी बनिसकेकाले अब तिब्बत जनसरकारले त्यसको कार्यान्वयन गर्ने नेता छीले भनेको मन्त्री ज्ञवालीले बताए । पछिल्लो समय केरुङ नाकामा देखिएको समस्याका बारेमा प्रधानमन्त्री ओलीले नेता छीलाई जानकारी गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.