प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

| 2018 Sep 10 | 12:20 pm 1860

काठमाडौं, भदौ २५: संसदीय सुनुवार्इ समितिले प्रधानन्यायधीस ओमप्रकाश मिश्रको नाम नियुक्तिका लागि अनुमोदन गरेको छ।

संसदीय सुनुवार्इ विशेष सिमितिको सोमबारको बैठकले प्रधानन्यायाधीसमा प्रस्तावित मिश्रलार्इ  नियुक्तिका लागि अनुमोदन गरेको हो। संसदीय सुनुवाई विशेष समितिमा मिश्रका बारेमा परेका उजुरी तथा अन्य विषयमा समिति सदस्यहरूले छलफल गरेलगत्तै नियुक्तिका लागि अनुमोदन गरिएको हो।

नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानुन बमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था छ।

उक्त धाराको उपधारा (२) मा उपधारा (१) को प्रयोजनका लागि संघीय संसदका दुवै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम १५ सदस्यीय संयुक्त समिति गठन गरिने प्रावधान छ। समितिमा सभापति चयन नभइसकेको हुँदा समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले सभापतित्व गरेका थिए।

के थिए उजुरी?

संसदीय सुनुवाइ विशेष समितिले कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी गर्नेहरूसँग आइतबार छलफल गरेको थियो।

एनसेलको कर छुटदेखि, श्रीमती हत्यापछि जेल जीवन बिताइरहेका सशस्त्रका डीआईजी रञ्जन कोइरालाको मुद्दामा झगडिया झिकाएर आफन्तसँग घुस लिएको आरोपसहित मिश्रविरुद्ध समितिमा चार उजुरी परेका थियो।

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकका लागि लिइएको गणित विषयको परीक्षाको प्रश्नपत्र आउट गर्नेलाई छुट दिएको, हाँडीगाउँको जग्गाको मुद्दा फैसलामा पनि मिश्रले घुस लिएको भन्दै उजुरीकर्ताले निष्पक्ष छानबिन गर्न समितिसँग आग्रह गरेको थियो।

ललितपुरको सैंबुस्थित विवादस्पद जग्गाका विषयमा मिश्रले अनियमितता गरेको भन्दै समितिमा परेको एउटा उजुरी भने उजुरीकर्ताले नै फिर्ता लिएका थिए।

यसअघि प्रधानन्यायाधीसमा प्रस्तावित दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषद्ले मिश्रको नाम सिफारिस गरी समितिमा पठाएको थियो। जोशीको शैक्षिक प्रमाणपत्रदेखि न्याय सम्पादनका क्रममा विभिन्न विवादित फैसला भएको भन्दै दुईतिहाइ मतबाट समितिले अस्वीकृत गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.