काठमाडाैं, माघ ८ः प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा मिति २०७७ कात्तिक १८ गतेबाट मिति २०७७ माघ ६
गतेसम्म सञ्चालन भएको प्रतिविद्रोह तथा जंगल वारफेयर तालिममा सोही शिक्षालयकी महिला सैनिक जवान व्य.नं.
२६३८०७ सिपाही राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक उक्त तालिम सम्पन्न गर्ने पहिलो महिला
सैनिक हुन सफल भएकी छन् ।
सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका २ थापाटोलका भिम बहादुर थापाको नातिनी, पूर्ण बहादुर थापाको छोरी सिपाही राधिका थापा मिति २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् ।
सैन्य आधार तालिम पश्चात मिति २०७० जेठ २४ गतेबाट श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत रहेकी निज महिला सैनिक जवानले सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग गर्ने सि.सं. १०३ प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरी साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेकी छन् ।
तीन महिनाको अवधीसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, jungle survival techniques तथा सर्पदंश ब्यवस्थापन लगायत बिभिन्न सैनिक ज्ञान/सीपहरु सिकाइन्छ । निज सिपाहीले बिल्लादार ग्रेड-३ तथा लाईट मोटर ड्राईभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरी सकेकी छन् ।
यसरी नेपाली सेनाको इतिहासमा यो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकोमा उनलाई नेपाली सेना हार्दिक बधाई ज्ञापन दिएकाे छ ।