प्रतिबन्धित लागूऔषध सहित छ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 24 | 05:45 pm 1520

काठमाडौं, कात्तिक ७: छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी (पश्चिम), सरावल गाउँपालिका २ देविनगरस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका १४ वेगनासतालका ३७ वर्षीय सुमन थकाली लगायत ४ जनालाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध डाईजेपाम १ सय ९० एम्पुल, फेनरागन १ सय ९० एम्पुल, नुर्फिन १ सय ९० एम्पुल र सिरिन्ज ७ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १६७५ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका ११ बाट अवैध लागूऔषधसहित दु्ई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँका २८ वर्षीय उद्धब तामाङ र १८ वर्षीय सोभित चौधरी रहेका छन् ।

उनीहरुको साथबाट डाइजेल्याब १६ एम्पुल, नुर्फिन १६ एम्पुल, फेनरागन १६ एम्पुल, कौडा १६ वटा, डाईसको गोटी ६ थान र नगद १८ हजार ८ सय रुपैयाँ सहित २ जनालाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुको कोठा जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.