प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज पुनः सुनुवाइ हुँदै

रिपोर्ट नेपाल | 2021 Jun 06 | 08:53 am 1529

काठमाडौं, जेठ २३ः प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज पुनः सुनुवाइ हुँदै छ । आज गठन हुने संवैधानिक इजलासले नै उक्त मुद्दामा सुनुवाइ गर्ने बताइएको छ ।

नेकपाको एकता खारेजीको फैसला गर्ने न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ उक्त इजलासमा बसेपछि हटाउनुपर्ने आवाज उठेको थियो । त्यसपछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले वरिष्ठताको आधारमा नै संवैधानिक इजलास पुनर्गठन गरेर सुनुवाइ अघि बढाउने बताका थिए ।

संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन गर्ने सहमति भए पनि शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकमा यसबारे छलफल समेत गरिएन । तर त्यस दिन वरिष्ठताकै आधारमा प्रन्या राणाले नागरिकता अध्यादेशविरुद्ध रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरेका थिए ।

शुक्रबार पुनर्गठन गरिएको इजलासमा न्यायाधीशरू दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई वरिष्ठताका आधारमा राखेका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित ५ जना रहने व्यवस्था छ । तर इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश विश्वम्भर श्रेष्ठ बस्न पाउने भए तापनि उहाँ अस्वस्थ रहेका कारण सट्टामा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको थियाे ।

आज संवैधानिक इजलास पुनर्गठन हुन्छ या शुक्रबारको सोही इजलासले सुनुवाइ गर्छ भन्नेबारे केही खुलाइएको छैन । यसमा पनि अहिले कानुनविदहरूकाे चासाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.