पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 15 | 04:20 pm 2101

काठमाडौं, असार १ः पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ एवं हवाई टिकटको लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको हो । साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

एक राउण्ड गोली सहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.