पोखरामा उठेन फोहोर

रिपोर्ट नेपाल | 2022 Mar 19 | 07:55 am 1693

कास्की, चैत ५: पोखरा महानगरपालिकामा चार दिनदेखि फोहोर नउठ्दा सडकमै फोहोर थुप्रिन थालेको छ। ल्यान्डफिल्ड नजिकका स्थानीयको माग महानगरपालिकाले पूरा नगरेको भन्दै फोहोर ल्यान्डफिल्ड साइटसम्म पुर्याउने गाडी स्थानीयले रोक लगाएपछि फोहोर सडकमै थुप्रिन थालेको हो।

पोखरा—१४ मा दाहसंस्कारका लागि आवश्यक घाट निर्माण, सडक, ल्याबसहितको सहरी स्वास्थ्यचौकी बनाउन, पोखरा १४ र पोखरा २१ निर्मलपोखरी जोड्ने सेतीमा पुल बनाउनेलगायतका माग राखेको छ। तर, त्यो पूरा नभएकोले आन्दोलनमा जानु परेको जनसरोकार समिति पोखरा—१४ का अध्यक्ष बोधराज कार्कीले बताए।

महानगरपालिकामा पटकपटक स्थानीयका माग पूरा गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा जानु परेको अध्यक्ष कार्कीले सुनाए। अब प्रतिबद्धता होइन एक्सनमा काम नगरेसम्म स्थानीय नमान्ने पक्षमा रहेको पनि उनले बताए। २०५७ सालमा बनाउन सुरु भएर २०६१ सालबाट पोखरा १४ बाच्छीबुडुवामा ल्यान्डफिल्ड साइट सञ्चालनमा आएको र त्यतिबेला देखिका सम्झौता सबै पूरा नभएको उनले बताए। २४ घण्टा अल्टिमेटम दिएर ४ दिनदेखि फोहोर फाल्न रोकेको उनले सुनाए। बार्ता भइरहेको र भोलिसम्म महानगरपालिकाले स्थानीयको माग पूरा गर्ने विश्वास पनि उनले लिए।

पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले स्थानीयका सबै मागप्रति महानगरपालिका पूरा गर्न प्रतिबद्ध भएको सुनाए। स्थानीयसँग छलफल भइरहेको र मागप्रति महानगर समर्थन गर्दै पूरा गर्न प्रतिवबद्ध रहेको नेपालीले सुनाए। छिट्टै नै स्थानीयका माग सम्बोधन हुने भएकोले अवरोध हट्ने विश्वास उनले गरे।

फोहोर नउठेपछि पोखराका मुख्य सडक सिर्जना चोक, न्युरोड, महेन्द्रपुल क्षेत्रमा फोहोर थुप्रन थालेको छ। गर्मी बढेसँगै भीडभाड हुने बजार क्षेत्रमा फोहोर थुप्रँदा स्वास्थ्य समस्या बढ्नेप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.